काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’मा आफ्ना भनाइ राख्दै उनले लगानी भित्र्याउने नीतिगत सुधारहरु गर्न निजी क्षेत्रले प्रवासी नेपालीसँग हातेमालो गर्न तयार रहेको बताए । ‘यहाँहरुले गरेको व्यवसायको केही अंश नेपालको सम्भावना भएको ठाउँमा लगानी गरिदिनुस् । जलविद्युत, पर्यटन, प्रविधिमा ठूलो सम्भावना छ । सहकार्य गरौं,’ उनले भने ।
एकता गरेर एउटा संस्था बनाएको र अध्यक्ष सर्वसम्मत बनाएकोमा बधाई दिँदै फुटेर होइन जुटेर अगाडि बढ्न अनुरोध गर्दै नेपालमा भएको सम्भावनामा संयुक्तरुपमा काम गर्न अपिल गरे । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताएका हुन्। उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशका लागि भन्दा आफ्नो भावी सन्ततिको लागि भनेर लगानी गर्न सुझाव दिए । सन्ततिलाई एनआरएनएसँग जोड्न उनले आग्रह गरे । व्यवसायीहरुलाई एक अर्काको कुरा नकाट्न अनुरोध गर्दै यसले कर्मचारीतन्त्र र राजनीतिक दलले हेप्ने गरेको सुनाए । गैरआवासीय नेपालीहरुको लगानी पैसामा मात्र नभई सीप, प्रविधि, ज्ञान आउने उनले बताए । उनले संविधान निर्माण भएको १० वर्ष वित्दा अझै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नभएकोमा आक्रोश पोखे । संविधान र ऐन भन्दा नियमावली बनाइदिन र नियमावलीमा प्रष्ट लेखिदिएर गैरअवासीय नेपालीलाई काम गर्न दिन अनुरोध गरे । ‘जो काम गर्न चाहन्छन् तिनीहरुलाई आदर सत्कारका साथ गर्न दिनुस्,’ उनले भने । महतोले नेपालको विकास संस्कृति, संस्कार सभ्यतासहितको विकास चाहिएको बताए । नेपालमा समस्या रहे पनि लगानी गर्न गैरआवासीय नेपालीलाई अपिल गरे ।
एनआरएनएका पूर्वअध्यक्ष आरके शर्मा लगानीमा डाइभर्ट गर्न नसकेको पैसा रेमिट्यान्स भएको र यो अनुत्पादक क्षेत्रमा गर्न भइरहेको बताए । रेमिट्यान्सलाई उत्पादनमा जोड्न अर्थ शिक्षाको पनि अभाव रहेको भन्दै वार्षिक २ खर्बको रेमिट्यान्सलाई उत्पादनमा जोड्न सकिने उनले बताए ।
एनआरएनए र उद्योग वाणिज्य महासंघ मिलेर ग्यास विस्थापित गर्न सकिने बताए । अर्को सीप सिकेको नेपालीलाई स्वरोजगारको ठूलो सम्भावना बोकेको बताए । १० देखि १५ हजार मेगावाट बिजुली खपत हुने डाटा सेन्टर राख्दा धेरै ठूलो अर्थतन्त्रमा टेवा पुग्ने बताए । यी तीनवटै क्षेत्रलाई हेर्न सकियो भने समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने भन्दै उनले नयाँ सरकारले कानुन संशोधनमार्फत लगानीमैत्री वातावरण बनाउनेमा आशा व्यक्त गरे ।
उपाध्यक्ष रोविनप्रसाद शेरचनले संस्थालाई एक ठाउँमा ल्याउन आफू अध्यक्षको उम्मेदवारीबाट फिर्ता भएको बताए । ‘नेपालसँग जोडिन चाहन्दौ । तर वातावण भन्नुपर्छ । हामीले बुझेका छौं । लगानीमा सहयोग गर्नेछौं,’ उनले भने ।
उपाध्यक्ष अर्जुन श्रेष्ठले सडक, पूर्वाधार, पर्यटन, कृषिमा लगानी गर्न उत्साहित रहेको तर वातावरण बनाउनुपर्ने बताए । सचिव डा. ज्ञानेन्द्र रेग्मीले लगानीका लागि नीतिगत सुधारहरु जरुरी रहेको बताए । धितोपत्र बोर्डमा शेयरमा जोडिन खोजे पनि नपाएको गुनासो गरे ।
समारोहमा भुवन खरेलले पाँच मिनेटको गुल्मीको कफी खेती परियोजनाको सो केस गरेका थिए ।






















