काठमाडौं। नेपालमा उदाएको युवा नेतृत्वले देशमा विकास, सुशासन र आर्थिक समृद्धिको नयाँ आशा जगाएको उद्योगी वरुण चौधरीले बताएका छन्। भारतीय अन्तर्राष्ट्रिय समाचार माध्यमसँगको अन्तर्वार्तामा उनले नयाँ पुस्ताको नेतृत्वप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपाल परिवर्तनको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए।
उनले विशेषरूपमा बालेन शाहको युवा नेतृत्वले देशभरि सकारात्मक सन्देश दिएको उल्लेख गरे। चौधरीका अनुसार युवापुस्ताको स्पष्ट दृष्टि, साहसी निर्णय र परिणाममुखी कार्यशैलीले नेपालमा सुशासन र विकासप्रतिको विश्वासलाई थप बलियो बनाएको छ।
“युवा पुस्ताले अब परिणाम चाहन्छ। उनीहरू परिवर्तनका पक्षमा उभिएका छन्। यही ऊर्जा र प्रतिबद्धताले नेपाललाई नयाँ दिशामा अघि बढाउनेछ,” चौधरीले अन्तर्वार्तामा बताएका छन्।
उनका अनुसार नेपाल सम्भावनाले भरिएको देश हो र सही नेतृत्वका साथ आर्थिक विकासका धेरै ढोका खुल्न सक्छन्। जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता जस्ता क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गर्न सक्ने उनले बताए।
चौधरीले युवा नेतृत्वले केवल राजनीतिक परिवर्तन मात्र नभई व्यवस्थापन र विकासको नयाँ संस्कार स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। उनले उद्योग, प्रशासन र सार्वजनिक सेवा क्षेत्रमा पनि परिणाममुखी कार्यसंस्कृति आवश्यक रहेको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले देशलाई समृद्धितर्फ अघि बढाउन सहयोग पुग्ने बताए।
भारत–नेपाल सम्बन्धबारे बोल्दै उनले दुई देशबीच ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अत्यन्त गहिरो रहेको बताए। ऊर्जा, व्यापार र ट्रान्जिट जस्ता क्षेत्रमा सहकार्य अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गर्दै उनले भविष्यमा नेपालले दक्षिण एशियामा आर्थिक अवसरहरूको केन्द्रका रूपमा आफ्नो भूमिका विस्तार गर्न सक्ने सम्भावना रहेको बताए।
चौधरीले युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै नेपालले सकारात्मक सोच, सहकार्य र स्पष्ट नीतिका साथ समृद्धिको नयाँ यात्रा सुरु गर्ने समय आएको बताएका छन्।






















