काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरेको हो । यो आईपीओमा भोजपुर जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता निष्काशन गरेको छ । यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २६ गते हुनेछ । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















