skip this News Page Tips Ad Road Block

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छः चेम्बर अध्यक्ष अग्रवाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् । चेम्बरको सहकार्यमा आइतबार काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ चौथो संस्करणमा यस्तो बताएका हुन् ।

आयुष प्रणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न र चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउन सम्मेलन आयोजना गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।

उनले नेपाल चेम्बर अफ कमर्सले आरोग्य दशकको अभियानलाई पूर्ण समर्थन गर्ने उल्लेख गर्दै यस पहलले स्वास्थ्य क्षेत्रमा लगानी, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष अग्रवालले विश्व स्वास्थ्य प्रणाली उपचारमुखी अवधारणाबाट स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, जीवनशैली व्यवस्थापन तथा समग्र कल्याणतर्फ उन्मुख हुँदै गएको बताए । कोभिड–१९ महामारीले स्वास्थ्य प्रणालीको सुदृढता, मानसिक स्वास्थ्य, स्वस्थ जीवनशैली तथा समुदायस्तरीय तयारीको महत्त्वलाई उजागर गरेको उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालका अनुसार, नेपालले आफ्ना जडीबुटी, प्राकृतिक उपचार पद्धति, योग तथा ध्यानलाई अनुसन्धान र नवप्रवर्तनमार्फत वैज्ञानिक रूपमा विश्व बजारमा प्रवर्द्धन गर्न सके आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । उनले संयुक्त अनुसन्धान, शैक्षिक आदान–प्रदान, औषधि उद्योग, जडीबुटीजन्य उत्पादन तथा स्वास्थ्य पर्यटनका क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा विकास साझेदारहरूबीचको सहकार्यबाट मात्र समावेशी, नवप्रवर्तनशील र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्न सकिनेमा उनले जोड दिए ।

अध्यक्ष अग्रवालले नेपाल–भारतबीच स्वास्थ्य, आरोग्य, अनुसन्धान, औषधि उद्योग तथा पर्यटनका क्षेत्रमा सहकार्यको महत्त्व समेत प्रकाश पारे । उनले आयुष कन्क्लेभ २०२६ ले नयाँ साझेदारी विकास गर्न, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा मानव कल्याण र दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस कार्यक्रममा नेपाल भारत बंगलादेश, यूएईका आयुर्वेद विशेषज्ञ, चिकित्सक, अन्वेषक र प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसअघि भारतको आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको आयुस कन्क्लेभ नेपालमा पहिलोपटक आयोजना भएको हो । कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका उच्च अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block