काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छिन् । राष्ट्रिय सभा गृहमा आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उनले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी हुन् । आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मानिएको छ ।
नीतिमा समेटिएका क्षेत्रहरुमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित विधा समेटिएका छन् ।
सभामा पेश भएको नीति आजै बिहान काठमाडौँ प्लाजाको बैठक कक्षमा सम्पन्न ५१ औँ कार्यपालिका बैठकमा छलफल गरेर नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले, नीति कार्यान्वयनमा सहभागिता र सक्रियताको अपेक्षा गर्दै अन्तर सरकार समन्वय र साझेदारिताबाट लक्ष्य हासिल गरिने बताइन्।
आज पेश भएको नीतिमाथि छलफल गर्न भोलि विहान ८ बजे राष्ट्रिय सभा गृहमा अधिवेशनको दोस्रो बैठक बोलाइएको छ ।





















