Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वायु प्रदूषणको स्तर बढ्दै जान थालेपछि मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । पछिल्ला दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला शहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ ।

त्यसैगरी वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे ।

वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए ।

प्रदूषण बिहान–बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ ।

Health Tips Ad Road Block