काठमाडौं । मतदानको दिन फागुन २१ गते अन्तर्राष्ट्रिय र आन्तरिक हवाई कुनैपनि उडान नरोकिने भएको छ । निर्वाचन आयोगले ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।
चुनावका दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् रूपमै सञ्चालनको व्यवस्था मिलाइने छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटेलसम्म र घर/बसोबास गर्ने होटेलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउने अर्को निर्णय आयोगले गरेको छ ।
यस्तै फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ । आयोगले अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेकालाई राखेको छ ।






















