काठमाडौं । फागुन २१ गतेको निर्वाचनका बेला सवारी चाप कम हुने अवसरलाई सदुपयोग गरेर नारायणगढ–बुटवल सडक विस्तारको कामलाई तीव्रता दिइने भएको छ । चुनावका बेला सडकमा सवारी साधनको चाप घट्ने भएकाले सोही अवधिमा बढी काम गर्ने गरी जनशक्ति व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार निर्वाचनका कारण नेपाली कामदारहरू घर जाने हुँदा करिब १० दिन काम प्रभावित हुनसक्ने देखिएकाले त्यसको परिपूर्तिका लागि भारतीय मजदुर बोलाएर काम अघि बढाइएको छ ।
नवलपुर खण्डमा हाल करिब पाँच सय कामदार खटिएको आयोजनाका ’प्रोजेक्ट म्यानेजर’ राकेश झाले जानकारी दिएका छन् । सूचना अधिकारी खनालका अनुसार हाल नवलपुरको दाउन्ने खण्डलाई उच्च प्राथमिकता दिइएको छ । कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने सडकको बीच भागमा ’डिभाइडर’ र बजार क्षेत्रमा ’सर्भिस लेन’ निर्माण जारी छ । धेरैजसो पुलको निर्माण सम्पन्न भइसकेको र अरुण खोलाको पुल बिहीबारदेखि सञ्चालनमा आउने उनले जानकारी दिए ।
आगामी चैतसम्म कालोपत्रे र सर्भिस लेनको काम सक्ने लक्ष्य आयोजनाले जनाएको छ ।






















