कास्की । फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । बुधबार जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा उनले जानकारी लिए । सो अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र कास्की जिल्लाका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराइन् । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए ।
सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल वेल्वासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएका थिए । निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनकरुपमा अगाडि बढेको र स्थानीयस्तरमा राजनैतिक दलहरुले आन्तरिक विवाद मिलाउन सिर्जना गरेको ह्वाटएप ग्रुपको प्रशंसा गरे ।
यसैगरी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
त्यस्तै म्याग्दी जिल्लाको स्थलगत अनुगमन गर्नेक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका १५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । सोक्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
तीनवटै जिल्लाको निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारीका कामहरु सन्तोषजनकरुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल बीच स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको आफूले अनुभूत गरेको जानकारी गराए । निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको र अन्य सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको समेत उनले बताए ।
यसअघि अर्थमन्त्री खनालले तनहुँ र गोरखामा पनि अनुगमन गरिसकेका छन् ।






















