काठमाडौं । एभरेस्ट समिटियर्स समिट नेपालले एभरेस्ट समिटियर, सुश्री कविता नेपालीसँग समझदारीपत्रमा हस्ताक्षर गर्दै उनलाई एभरेस्ट समिटियर्स समिट २०२६ की सार्वजनिक सम्बन्ध प्रतिनिधिको रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई पक्षबीच औपचारिकरूपमा हस्ताक्षर गरिएको हो।
यसअघि एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ को मिति तथा दृष्टिकोणसम्बन्धी घोषणा गरिसकेको थियो, जससँगै समिटका लागि दर्ता प्रक्रिया पनि औपचारिकरूपमा सुरु गरिएको थियो।
यसले समिटको सार्वजनिक पहुँच, सञ्चार रणनीति तथा अभिव्यक्तिलाई अझ सुदृढ बनाउने उद्देश्य राखेकाे बताइएकाे छ। एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुँदैछ। सुश्री कविता नेपालीले मे १८, २०२५ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन् । उनको साहस, अनुशासन र प्रेरणादायी यात्राले एभरेस्ट एलायन्स नेपालको मूल्य र उद्देश्यलाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने एभरेस्ट समिटियर्स समिट नेपालले छ। यस सहकार्यअन्तर्गत सुश्री कविता नेपालीलेः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल तथा समिटको प्रतिनिधित्व गर्ने सार्वजनिक सम्बन्ध र सञ्चार रणनीतिमा सहयोग गर्ने दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन र हिमाली संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने बताइएकाे छ । एभरेस्ट एलायन्स नेपालका प्रतिनिधिहरूका अनुसार यो सहकार्य औपचारिकतामा सीमित नभई हिमाल संरक्षण, जिम्मेवार अभिव्यक्ति र भावी पुस्तालाई प्रेरणा दिने साझा प्रतिबद्धता हो। एभरेस्ट समिटियर्स समिट एभरेस्ट एलायन्स नेपालद्वारा सुरु गरिएको एक अन्तर्राष्ट्रिय मञ्च हो, जसले एभरेस्ट समिटियरहरू, नीति निर्माता, संरक्षण संस्था, उद्योग क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई एकै स्थानमा ल्याउनेछ। सन् २०२५ मा सम्पन्न पहिलो संस्करणमा १२ देशका १५४ एभरेस्ट समिटियरहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सन् २०२६ को संस्करणले जलवायु परिवर्तन, दिगो पर्यटन, फोहोर व्यवस्थापन र हिमाली पारिस्थितिक संरक्षणसम्बन्धी संवादलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।





















