नेपाल वैदेशिक रोजगार व्यवसायी संघको इतिहासलाई कोट्याउँदा २०४९ साल असार १७ गते यस संस्था स्थापित भएको हो । अहिले ३२ औँ वर्षमा यो संस्था चलिरहेको छ । ३२ वर्ष पुगेर ३३ वर्ष लागिरहँदा वैदेशिक रोजगारमा करिब ६८ लाख मानिसहरूलाई व्यवसायीहरुले संस्थागतरुपले वैदेशिक रोजगारमा पठाएको पाइन्छ । यद्यपि ती सबै नागरिक विदेशमै बसेका छैनन् । अहिले संस्थागतरूपमा काम गर्न गएका मानिसहरू २५ देखि ३० लाखको बीचमा रहेको संघको भनाइ छ । अरु बाँकी नेपालीहरु विदेशबाट नेपाल फर्किसकेका छन् । उनीहरु कुनै समय विदेश पुगे, सिपआर्जन गरेर त्यसलाई लिएर आए । रेमिट्यान्स लिएर आए । उनीहरुले ल्याएको यही रकमले बजार चलायमान गरिरहेको छ र नेपालको अर्थतन्त्र चलायमान छ । त्यसलाई चलायमान गर्ने व्यवसायीहरुको संस्था अहिले करिब एक हजारको संख्यामा रहेका छन् । यही एक हजारको प्रतिनिधित्व गर्ने व्यवसायीको छाता संस्थाले बल्ल आफ्नै नयाँ भवन पाएको छ । हालका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायी संघले साँढे चार करोडको लगानीमा आफ्नै भवन खरिद गरेको हो । प्रस्तुत छ ३२ वर्ष पछि बल्ल संघले आफ्नै भवन खरिद गर्न कसरी सम्भव भयो र अबको वैदेशिक रोजगारका विषयमा कसरी अगाडि बढ्नुपर्दछ भन्ने विषयमा अर्थप्रणाली डट कमले संघका अध्यक्ष राजेन्द्र भण्डारीसँग गरेको कुराकानीको संपादित अंशः
आफ्नै भवनको अवधारणा
वैदेशिक रोजगार क्षेत्रमा रहेका व्यवसायीहरुलाई व्यवस्थित गर्न, सरकारसँग नीतिगत संवाद गर्न, समय सापेक्ष नीतिको परिमार्जन, संस्थागत विकास गर्नको निमित्त एवं सबैभन्दा पहिला संस्थाको आन्तरिक जीवन विकास गर्नु अति आवश्यक हुनेछ । त्यसका लागि विगत लामो समयदेखि हामीलाई आफ्नै कार्यालय भवनको आवश्यकता थियो । पहिले प्रशासनिक विषयहरु व्यवस्थित गरिसकेपछि मात्रै अरु विषयहरु चुस्त अगाडि बढ्न सक्छन् भन्ने मनन गर्दै यस बीचमा धेरैपटक भवन बनाउनका लागि प्रयासहरू पनि भए । यसअघि बानेश्वर क्याम्पसभन्दा पारिपट्टि खोलाको करिडोरमा जग्गा पनि किनियो । जग्गा किनेर पनि केही गर्न सकिएन । यसपटक भने हामीले काठमाडौँको सिफलको चौर अगाडि करिब साढे छ आना जग्गामा बनेको साढे तीन तलाको घर खरिद गर्न सक्षम भएका छौं ।
जसमा हलसमित १५/१६ कोठा रहेका छन् । कार्यालयको स्थापनापछि अब व्यवसायीहरुलाई सुरक्षित तवरले सेवा उपलब्ध गराउने, विदेशमा रोजगारीमा जाने श्रमिक एवं कामदारहरुको सुरक्षालाई पनि विशेषरुपले आफ्नै प्रसाशनिक भवनबाट काम दिन सकिनेछ । नीतिगत संवाद (पोलिसी डायलग) आफ्नै कार्यालय भवनबाट गर्न सकिएमा सहज हुनेछ । अब यहाँ विज्ञहरू ल्याएर वैदेशिक रोजगारमा जानेहरूको अधिकार सुरक्षित गर्ने, व्यवसायीलाई अझ नैतिक र व्यवस्थित हुने विषयमा छलफल एवं बहस चलाउनको निमित्त यो महत्वपूर्ण हुनेछ । यसअघि व्यवसायीसँग लेबी उठाएर महिनाको डेढ/दुई लाख भाडा तिरेर बस्नुपर्दथ्यो र त्यसले संस्था चलाउन पनि धौधौ पर्ने गरेको थियो । अब त्यो खर्च जोगिने भएको छ । सबै व्यवसायीलाई आह्वान गरेर उनीहरुबाट पैसा जुटाएर ४ करोड ५५ लाख रुपैयाँको लागतमा आफ्नै भवन खरिद गरिएको हो । अब यो संस्था आफ्नै भवनबाट चल्ने भएको छ । यसले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई यो क्षेत्रको संस्थागत विकासका लागि सधैंभर महत्वपूर्ण भूमिका खेल्ने छ । मेरो कार्यकालमा यो एक महत्वपूर्ण काम भएको छ ।
त्यसोभए यसलाई एक महत्वपूर्ण उपलब्धि भएको मान्नुपर्छ ?
हो, यो एकदम महत्वपूर्ण काम हो । वैदेशिक रोजगार व्यवसायको इतिहासमै पहिलोपटक महत्वपूर्ण काममध्येको एक आफ्नै भवन हुनु आफैंमा महत्वपूर्ण काम हो । भवन स्थापना गरेर यहीँबाट कार्य सञ्चालनसँगै कार्यालय व्यवस्थापन गरिएको छ । आगामी दिनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको पक्षमा होस् या व्यवसायीको पक्षमा काम गर्नका लागि यसलाई मिलन केन्द्रबिन्दुको रुपमा अब स्थापित गरिनेछ । व्यवसायी वा श्रमिकलाई पर्ने हरेक समस्याको समाधानको निमित्त संस्थाले अब त्यो किसिमको सेवा दिनेछ ।
यति ठूलो लागतको भवन खरिद गर्नको लागि कसरी सम्भव भयो ?
वास्तवमा धेरैपटक धेरै साथीहरूले आफ्नै भवन स्थापित गर्ने कोशिश गर्नुभयो । मेरो नेतृत्वमा आएर बल्ल यो सम्भव भयो । सबैभन्दा मुख्य कुरा कार्यसमितिले व्यवस्थापन गर्न सकेको कारण अहिले यो कार्य सम्भव भएको हो । हामीले सबै व्यवसायीको लागि केही काम गर्नुपर्छ भनेर अनुरोध गर्यौं । जब हामीहरुप्रति उहाँहरूको विश्वास रह्यो, त्यसपछि उहाँहरूको सहयोग रह्यो र उहाँहरूकै सहयोगले यो भवन बनाउन सम्भव भएको हो । व्यक्तिगतरुपमा मैले मात्रै यो काम गरेको होइन । समग्रमा सबै साथीहरुले कसैले १५ लाख, कसैले १० लाख, कसैले ५ लाख, कसैले ३ लाख, कसैले २ लाख, कसैले १ लाख त कसैले ५० हजार गरी करिब २३० जना साथीहरुले यो भवन खरिदका लागि योगदान गर्नुभएको छ । उहाँहरुले दिनुभएको सहयोग रकमले नै यो भवन किनिएको हो । संस्थाको केही पैसा गएको छ । साथीहरुलाई अनुरोध गरेर २५ लाख रुपैयाँसम्म ऋण गरिएको छ । सबैभन्दा ठूलो कुरा व्यवस्थापन र व्यवसायीलाई विश्वासमा लिने विषय हो । व्यवसायीका पिर मर्का सबै हेरिदिएका कारणले गर्दा यो भवन किन्न सम्भव भएको हो ।
ती योगदान गर्नेहरूलाई संघले के गर्छ ?
अहिले संघको नाममा भवन आइसकेको छ र उद्घाटन गरिएकाे छ ।
यहाँ ज–जसले यसमा योगदान गर्नुभएको छ, उहाँहरुलाई सम्मानपत्रले सम्मानित गर्नेछौं । उहाँहरूको नाम यहाँ शिलालेखमा राखिनेछ । आगामी पुस्ताले पनि थाहा पाउने गरी सहयोगदाताहरूले गरेको सहयोग रकम उल्लेख गरेर शिलालेखमा प्रष्ट राखिनेछ ।
संघमा व्यवसायीहरु कति हुनुहुन्छ ?
करिब एक हजार व्यवसायिक संस्थाहरु यहाँ आबद्ध हुनुहुन्छ । कुनै एउटा संस्थामा एकजनादेखि पाँच–सात जनासम्म पनि संलग्न हुनुनहुन्छ । त्यसलाई औसतमा तीनजना भनेर राख्ने हो भने पनि ३,००० व्यवसायी सञ्चालकहरु हुनुहुन्छ । १००० व्यवसायिक संस्थाको छाता संस्थाको रुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ रहेको छ ।
दुई वर्षको कार्यकालको समीक्षा
म संघमा आउने बित्तिकै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागमा कामदारको सहयोगको निमित्त हेल्प डेक्स स्थापना गर्यो । करिब २० लाखको लगानीमा हामीले संस्थाको कार्यालय नै बनाएर त्यहाँबाट कामदारका गुनासो एवं उजुरीहरुलाई सुन्ने र उनीहरूको समस्या समाधान गर्नको निमित्त काम गर्न सुरु गर्यौं । यो बीचमा करिब ३४०० कामदारसहित सबैका उजुरी गुनासा एवम् समस्या समाधान भएका छन् । कसैको ठगीका, कसैको बढी पैसा लिएको, कसैको कम्पनीमा समस्या भएको, कसैको फर्काउनुपर्ने समस्या आए । त्यसमा व्यवसायीलाई सम्झाएर एवं सहकार्य गरेर वा बुझाएर ती कामदारलाई रकम भुक्तानी लगायत परेका अन्य अप्ठ्यारो फुकाउने काम गरेका छौं । कसैले बढी रकम लिएको छ भने त्यसलाई फिर्ता गराएर समाधान गर्यौ । विशेष गरी विदेशमा पुगेर अप्ठ्यारोमा परेकाहरुलाई उद्धार गरेर यहाँबाट बढीभन्दा बढीलाई सुविधा दिएका हौं । कामदारका सबै समस्याको हल यहाँबाट गर्यौ ।
नियत नै राखेर कतिपय व्यवसायीहरूले गलत गरेको भए तिनीहरूलाई कारबाही सिफारिस एवं कारबाही गर्ने काम पनि भएका छन् । विभागमा सरकारलाई सहयोग गर्ने सहयोगी संस्थाको रुपमा अहिले त्यहाँ हामी स्थापित छौँ ।
अर्को वैदेशिक रोजगार क्षेत्रमा जहिले पनि ऐन, नियममा असाध्यै धेरै व्यवसायीलाई समस्या पार्ने प्रचलन नै रहेको छ । सरकारी पक्षले व्यवसायीलाई कसरी धेरै बाँध्ने र तिनलाई आफ्नो मातहतमा राखेर जाने भन्ने किसिमको ऐन, नियम बनाउँछन् । ज्वलन्त उदाहरणको रुपमा व्यवसायीको लाइसेन्स नवीकरण नहुने व्यवस्था गरिएको थियो । यो दुई वर्षको कार्यकालमा १०० जनाको सङ्ख्यामा मात्र नवीकरण गरियो । कुनै पनि देशमा कहिलेकाहीँ आर्थिक संकट भयो भने वा त्यहाँ समस्या भयो भने यो सम्भव बन्दैन । जस्तै मलेसियामा एक वर्षदेखि बन्द छ । त्यहाँ हाम्रा व्यवसायीले कामदार पठाउन पाएका छैनन् । त्यहाँ काममा मात्रै पठाउने ४०० व्यवसायी छन् । त्यहाँ कामदार पठाउन नपाएपछि १०० जनाको सङ्ख्या पुग्दैन । यो अव्यवहारिक भयो । कहीँ युद्ध छन् । कहिँ लडाई छन् । त्यस्तो बेलामा पनि १०० नपुग्दा नवीकरण नहुने अवस्था थियो । दुई वर्ष हामीले नवीकरण गरायौं । ऐनमा अव्यवहारिकरुपमा ल्याइएको विषयलाई सदाको लागि हटाउनुपर्छ भनेर अहिले संसदमा विषयवस्तु प्रवेश गरेको छ । यो कार्यले व्यवसायीलाई सदाका लागि राहत मिल्नेछ ।
त्यसैगरी दूतावासहरूसँग समन्वय गरेर कामदारका समस्याहरूलाई संवेदनशिल भएर हेर्ने काम भएको छ । संस्थागत सामाजिक सुरक्षा अन्तर्गत कामदारका अप्ठ्यारो परेका विषयवस्तुमा हेरिरहेका छौं । त्यस्तै व्यवसायीहरु बिरामी भएमा औषधि उपचार गर्ने क्रम होस् या अप्ठ्यारो परेका मानिसहरुलाई सहयोग गर्ने गरी हामीले साथीहरुसँग मिलेर काम गरिरहेका छौं । कतिपय अवस्थामा व्यवसायीहरूलाई दुःख दिने र विभिन्न गुण्डागर्दी गर्नेहरूका विरुद्ध संगठित भएर र कतिपयलाई समाएर प्रहरीमा जिम्मा लगाउने काम भएका छन् । यसले व्यवसायीलाई सुरक्षा दिने काम भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा शिप विकासको काम होस् या व्यवसायीलाई बढी नैतिकवान बनाउनको लागि के गर्नुपर्छ भनेर बोर्डसँग मिलेर सचेतना, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने काम भएको छ । वैदेशिक रोजगार व्यवस्थापन बोर्डसँग मिलेर सबै व्यवसायीलाई शिक्षा दिएर प्रमाणपत्र प्रदान गरेका छौं । विदेशमा विभिन्न किसिमका कार्यक्रमहरु गर्ने, कामदारलाई अप्ठ्यारो परेको छ भने समन्वय गरिदिने, उद्धार गर्ने लगायत धेरै विषयवस्तु सुरुवात गरिएको छ । संस्थागत विकास सँगसँगै वैदेशिक रोजगारमा हुने नीतिगत सुधारका पक्षमा हाम्रो कार्यकालमा धेरै काम भएको छ । मागपत्र प्रमाणीकरणको विषय अन्तिम चरणमा पुर्याइएको छ । जापानमा रोजगारीको लागि खोल्ने एसएस डब्लु कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाको इ सेभन होस् अन्य युरोपका देशहरूमा मागपत्र प्रमाणीकरण र कामदारलाई सहजढङ्गले पठाउन मागपत्र प्रमाणीकरण खोल्नको निमित्त पहल कदमीको अन्तिम प्रयत्न गरिरहेका छौं । समग्रमा व्यवसायीहरुले हाम्रै यी र यस्तै कामको मूल्याङ्कन गरेर नै यो भवन बनाउनका लागि सहयोग गर्नुभएको हो । हाम्रो कार्यकालमा चलायमान ढंगले काम गरेको हुनाले उहाँहरुले सहयोग गर्नुभएको हो भन्ने लाग्दछ ।
आगामी कार्यकालमा आउने नयाँ व्यक्तिले संघ र यस मातहतको कार्यमा कसरी लानुपर्छ ?
अब विदेशमा रोजगारमा गएका श्रमिक कामदारको सुरक्षा कसरी गर्ने, व्यवसायीहरु कसरी बढीभन्दा बढी नैतिकवान, कानुनसम्मत बन्ने, सिन्डिकेट लगायत गैरकानुनी कार्यहरू र अभ्यासहरु कसरी बन्द गर्ने भन्ने कुरामा बढी केन्द्रित बन्नुपर्दछ । अबको नेतृत्वले त्यसरी सोच्नुपर्दछ । अबको कार्यकालमा आउनेहरुलाई धेरै सहज छ । मागपत्र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ । त्यहाँ बजेट आवश्यक पर्ने हुनाले बजेट पारित गरेर पठाइसकिएको अवस्था छ । अप्रिलको अन्तिम हप्ताबाट मागपत्र प्रमाणीकरणको कार्य सुरु गर्ने भनिएको छ । जर्मन र अस्ट्रियाले धेरै देशहरुलाई हेर्ने भएको हुनाले ठूला रोजगारदाता रहेका धेरै कामदार लैजाने जर्मनी र अस्ट्रियासँग समन्वय गरेर अगाडि बढिएको छ । अब मागपत्र प्रमाणीकरण पनि खुल्छ । त्यहाँ सहज हुन्छ । त्यस्तै मानिसहरु सहज ढंगले युरोप तिर जान सक्दछन् । अहिले पनि करिब दुई लाख हाराहारीमा मानिसहरु युरोप पुगिसकेका छन् ।
त्यसैले विस्तारै नेपालको वैदेशिक रोजगारको गन्तव्य परिवर्तन हुनेछ । अब खाडी मलेसिया लगायत गल्फ देशमात्रै होइन युरोप र अलि सम्पन्न देशहरुमा पनि नेपाली पुग्नेछन् । त्यसको लागि सुरुवात गरिएको छ । हाम्रो पालाको यो महत्वपूर्ण काम हो । यो अगाडि बढेको छ । यसैगरी आगामी दिनमा पनि रचनात्मक हिसाबले वैदेशिक रोजगार क्षेत्रमा रहेका व्यवसायी र कमदारको हकहितको लागि नयाँ नेतृत्व लाग्नुपर्दछ ।
राज्यलाई सुझाव
अब ऐन, नियममा नै विदेशमा मानिसलाई पठाउने होइन भन्ने हुनुपर्दछ । आज ग्लोबल भिलेजको रुपमा विकसित भएकोले मानिसहरु जहाँ अवसर पाउँछन् त्यहाँ पुग्दछन् । त्यसका लागि सीप विकासका कार्यक्रमहरू ल्याउनुपर्छ । उनीहरुलाई सिपयुक्त बनाउने र थोरै मानिस पठाएर पनि धेरै रेमिटेन्स नेपाल ल्याउने हिसाबले सोच्नुपर्दछ । सिप भएमा उसको अधिकार लगायत विभिन्न विषयमा सचेत हुन्छ । हामी त्यसतर्फ केन्द्रित बन्नुपर्दछ । अब कामदारका निमित्त कसरी काम गर्ने, व्यवसायी नैतिक बन्ने, सिपयुक्त मानिस नयाँ–नयाँ गन्तव्यमा पठाउने र थोरै मानिस पठाएर धेरै रेमिटेन्स नेपाल भित्र्याउनेतर्फ ध्यान दिनुपर्दछ । त्यो काम आगामी दिनहरुको लागि महत्वपूर्ण हो ।