काठमाडौं । बजारमा डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुनेगरी मूल्य बढाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट जनावरी ३१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपिग्याँसमा प्रतिसिलिण्डर रू. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रति लिटर रु.१.०८ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले डिजेलमा प्रतिलिटर रु.४.६६ ले बढेर आएको भएतापनि आम उपभोक्ताको हितलाई ध्यान दिएर साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा रु. ३ ले मात्र बढाएको जनाएको छ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाईएको जनाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। साथै एलपि ग्यासको मूल्य बढेर आएको भएता पनि हाललाई बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।






















