कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान गरेका छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए ।
उनले निजी क्षेत्रको सहकार्यमा प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई अनुकूल हुने कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पाररे । साथै लगानीको सुनिश्चितताको लागि सुरक्षा, खानेपानी र यातायातजस्ता पूर्वाधार विकासको वातावरण बनाउन पनि सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री शाहले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै यहाँको कला, संस्कृति र पहिचानलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले प्रदेश सरकार र निजी क्षेत्र मिलेर आर्थिक गतिविधि चलायमान बनाउन लागिपरेको उल्लेख गरे । साथै जेन्जीहरूले उठाएका मागहरू सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने माग संविधानको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । नयाँ जनादेशअनुसार आवश्यक संविधान संशोधनमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने उनको धारणा छ ।
मुख्यमन्त्री शाहले टीकापुरमा छिट्टै टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने घोषणा गर्दै यसले क्षेत्रको शैक्षिक, आर्थिक र समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । यसका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावनाः समृद्ध सुदूरपश्चिमको परिकल्पना” भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ माघ ११ गतेसम्म सञ्चालन हुनेछ।






















