Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव सम्पन्न, सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ। काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिए ।

उनले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताए । उनले भने, “स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेको छ ।”

अध्यक्ष कुँवरले नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको बताए । कर्मचारीले हिम्मत नहारी सामुहिक रुपमा काम गरेकाले अस्पताल अहिलको अवस्थामा आएको उनको भनाई थियो । उनले ग्राण्डीलाई राजधानी काठमाडौँमा मात्र नभई सातै प्रदेशमा खोल्ने आफ्नो सपना भएको समेत बताए ।

अस्पताल सञ्चालक समितिका सदस्य ईन्जिनीयर विजय राजभण्डारीले ग्राण्डीले कम शुल्कमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आएको बताए । उनले ग्राण्डीमा उपचारसँगै हेरचाह राम्रो भएको बताए ।

उनले ग्राण्डीलाई थप सफलताको वाटोमा लैजानका लागि सञ्चालक समिति र व्यवस्थापनको वीचमा सल्लाहकार समिति गठन गरेर अगाडि बढिएको उल्लेख गरे ।

अस्पताल सञ्चालक समिति सदस्य ईन्जिनीयर वीरेन्द्रबहादुर श्रेष्ठले ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीको अथक मेहनतले ग्राण्डी स्वास्थ्य सेवाको ‘ब्राण्ड’ बनेको भन्दै खुशी व्यक्त गरे । ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीले विरामीलाई गर्ने व्यवहार राम्रो भएको उनको भनाई थियो ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले उपचारसँगै खोज, अनुसन्धान र तालिमलाई प्राथमिकता दिँदै आएको छ । नेपालसहित विश्वका विभिन्न मुलुकका विरामीलाई उपचार सेवा दिँदै आएको ग्राण्डीमा दैनिक ५०० विरामीले ओपिडि सेवा लिँदै आएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीको सामुहिक प्रयासका कारण आज ग्राण्डी अस्पताल नेपालको निजी अस्पतालमा अब्बल अस्पताल हुन पुगेको दाबी गरे । उनले ग्राण्डीले विगत तीन वर्षमा चार लाखभन्दा बढी विरामीको उपचार गरेको जानकारी दिए ।

कार्यक्रममा अस्पतालमा विगत १० वर्षदेखि निरन्तर काम गर्ने डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । ग्राण्डीले आफ्नो १३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार साँझ प्रजनन तथा प्रजनन विज्ञान केन्द्रको शुभारम्भ समेत गरेको छ । सोही अवसरमा अस्पतालका अध्यक्ष ईन्जिनीयर कुँवर, मेडिकल डाइरेक्टर डा. विजुक्छे र डा. विभुतीनाथ मिश्रले ग्राण्डी जर्नलको समेत विमोचन गरेका थिए ।

कुल २०० शैयामार्फत विरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको ग्राण्डीले भर्खरै ‘एडभान्स स्ट्रोक सेन्टर’को समेत मान्यता पाएको छ । ग्राण्डी विश्व स्ट्रोक संगठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाउने नेपालको पहिलो अस्पताल समेत बनेको छ ।

Health Tips Ad Road Block