Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमालेले भन्यो: ‘अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु अस्वीकार्य’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ ।

महासचिव शंकर पोखरेलले आज सामाजिक संजालमार्फत संयुक्त राष्ट्रसंघ गायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन गरेको उल्लेख गरेका छन् । उनले अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने समेत बताएका छन् ।

‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।’ उनले लेखेका छन् । ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’

त्यसैगरी नेकपा एमालेका सचिव महेश बस्नेतले पनि स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन । उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् । सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको उनले बताए । उनले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता औँल्याए । “कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,” उनले भने, “यस्ता कदमले विश्व व्यवस्थालाई अझ अस्थिर बनाउने खतरा हुन्छ।”

सचिव बस्नेतले अन्तर्राष्ट्रिय सम्बन्धमा समानता, पारस्परिक सम्मान र सार्वभौमिक अधिकारको रक्षा अपरिहार्य भएको उल्लेख गर्दै विश्व समुदायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे ।

Health Tips Ad Road Block