Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गोरखाको फिनाममा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णको पहलमा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर

३६० भन्दा बढी नागरिक लाभान्वित

Citizenlife ad 2082 falgun to baishak 2083

गोरखा । ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको पहलमा फिनाम, गोरखामा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। सहायक संस्था फर्नट लायन अस्पताल तथा ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा पुष १२ गते सञ्चालन गरिएको एकदिने शिविरले ३६० भन्दा बढी स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

शिविरको संयोजन फिनाम कुवापानी काठमाडौं सेवा समाजले गरेको थियो भने एशियन सेक्युरिटिज प्रालि ले आर्थिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेको थियो। दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि तथा दन्त उपचार सेवा पाएका थिए।

शिविरमा हाडजोर्नी, महिला तथा प्रसूति, नाक–कान–घाँटी, सामान्य चिकित्सा, आँखा परीक्षण, दन्त उपचार, नर्सिङ सेवा तथा औषधि वितरण गरिएको थियो। कुल सेवाग्राहीमध्ये १३८ जनाले दन्त परीक्षण गराएका थिए भने ३१ जनाले दाँत सफाइ तथा दाँत निकाल्ने सेवा लिएका थिए। यसले ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्यप्रति बढ्दो आवश्यकतालाई पनि उजागर गरेको छ।

विशेषज्ञ चिकित्सकहरूको सक्रिय सहभागिताले शिविरलाई प्रभावकारी बनाएको थियो। हाडजोर्नी रोग विशेषज्ञ डा. प्रतिक शाह, स्त्रीरोग विशेषज्ञ डा. सुनिता राणा, एमडीजीपी डा. महेश सिलवाल, ईएनटी विशेषज्ञ डा. विवेक लामा तथा मेडिकल अफिसर डा. निरज कुमार साहले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए । यस्तै, ॐ समाज डेण्टल अस्पतालका डा. हरि शंकर यादव, डा. सुदेश अधिकारी, डा. दीक्षा चौधरी, जुनु पण्डित र सिर्जना सुनुवारले दन्त स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

ॐ समाज डेण्टल अस्पताल काठमाडौंमा स्थापित एक सामाजिक उत्तरदायित्व बोकेको दन्त अस्पताल हो, जसले “सडकदेखि सदनसम्म” भन्ने मूल नाराका साथ गरिब, विपन्न तथा सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै सुलभ तथा गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले देशका विभिन्न ग्रामीण तथा दुर्गम स्थानमा नियमित रूपमा निःशुल्क तथा सहुलियत दरका दन्त शिविर सञ्चालन गर्दै आएको छ। सामाजिक सेवा, मानवता र स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर काम गर्दै आएको यस अस्पतालले दन्त उपचारलाई सबैको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ।

शिविर व्यवस्थापन तथा स्वयंसेवक सेवामा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका अध्यक्ष लायन उदय प्रसाद भण्डारी, जोन चेयरपर्सन लायन साधुराम पौड्याल, पूर्व अध्यक्ष लायन इन्द्र बहादुर न्यौपाने, लायन राजकुमार खरेल, हंगर चिफ लायन बालानन्द खत्री, सदस्यता समिति चेयरपर्सन लायन जिन माया चापागाईं, लाइफ मेम्बर लायन मधु महर्जन, सचिव लायन कृष्ण जङ्ग थापा तथा लाइफ मेम्बर लायन कमला बोहराको सक्रिय सहभागिता रहेको थियो। योगा सेवामा लिला दाहाल, नारायण चापागाईं र हिमाल गिरीले योगदान दिएका थिए ।

शिविरमा सहभागी ९० वर्षीया पद्मकुमारी थापा, ८२ वर्षीय झलकबहादुर थापा र ८२ वर्षीय नारायणबहादुर खत्रीले यस्तो स्वास्थ्य शिविर वृद्ध नागरिकका लागि अत्यन्त उपयोगी भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरे । स्थानीय महिला समूहले बाजागाजासहित आयोजक, चिकित्सक टोली तथा अतिथिहरूलाई भव्य स्वागत तथा सम्मान गरेको थियो।

कार्यक्रममा काठमाडौं–फिनाम सेवा समाजका अध्यक्ष मदन खड्काले गाउँमै आएर वृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरिदिएकोमा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णप्रति धन्यवाद व्यक्त गरे । एशियन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार खत्रीले “साँचो सेवा भनेको गाउँ–गाउँमा पुगेर गरिने सेवा हो” भन्दै ॐ समाज डेण्टल अस्पताल गरिब तथा दिनदुखीका लागि समर्पित संस्था भएको उल्लेख गरे ।

फिनाम–४ का वडा अध्यक्षले यस्ता स्वास्थ्य शिविरहरूले विकट क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्ने बताउँदै आयोजक, संयोजक संस्था तथा चिकित्सक टोलीप्रति कृतज्ञता व्यक्त गरे । शिविर सफल बनाउन फिनाम स्वास्थ्य चौकीले आवश्यक सामग्री तथा समन्वयमा महत्वपूर्ण भूमिका खेलेको थियो।
लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका अध्यक्ष उदय भण्डारीले आगामी दिनमा पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Health Tips Ad Road Block