कास्की । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल तथा पर्यटकीय स्थल भरिभराउ भएका छन् । पोखरा लेकसाइडका सडक, विभिन्न पर्यटकीय स्थल र मन्दिरहरुमा अधिकांश भारतीय पर्यटकको चहलपहल रहेको छ । फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या बढेको हो ।
भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढ्दै गएको छ ।
फेवातालमा दिनहुँ करिब पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेका फेवा डुङ्गा व्यवसायी सङ्गठनको भनाइ छ । टान गण्डकीका अनुसार पछिल्लो डेढ महिनामा डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन् । भारतीय पयृटकहरु धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा र्याफ्टिङ गर्न लालयित हुने गरेको भेटिन्छन् । भारतीय पर्यटक बढेपछि पोखराका पाँच तारेहोटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ भएका छन् ।
पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि त्यहाँका पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायीको भनाइ छ ।





















