skip this News Page Tips Ad Road Block

वितरण प्रणालीलाई स्वचालित बनाउनेगरी लेटाङ ३३/११ केभी सबस्टेशन सफलतापूर्वक चार्ज तथा सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

लेटाङ, मोरङ । नेपाल विद्युत प्राधिकरणको विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो तथा स्वचालित बनाउने उद्देश्यका साथ निर्माण गरिएको लेटाङ ३३/११ केभी, ८ एमभीए मानवविहीन (Unmanned) अटो रिकलोजर तथा स्काडा (SCADA) आधारित सबस्टेशन सफलतापूर्वक परीक्षण, कमिसनिङ तथा चार्ज भई सञ्चालनमा आएको छ। यो आयोजना नेपाल विद्युत प्राधिकरण, कोशी प्रदेश कार्यालय, विराटनगर अन्तर्गत निर्माण गरिएको हो।

उक्त सबस्टेशन नेपालको विद्युत् वितरण प्रणालीमा पहिलो पटक अटो रिकलोजर (AR) तथा SCADA नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेशन को रूपमा स्थापित भएको छ, जसले वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ अध्याय थपेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणकाअनुसार निर्माण कार्य २०७९ साल बैशाख ६ गते प्रारम्भ भई २०८३ साल असार ५ गते सफलतापूर्वक सम्पन्न तथा चार्ज गरिएको हो। आयोजना निर्माणको जिम्मेवारी जय दुर्गे इन्फ्रा इन्जिनियरिंगले वहन गरेको थियो।

सबस्टेशनमा ८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर, ३३ केभीका ४ वटा बे (एक इनकमर, एक आउटगोइङ, एक ट्रान्सफर्मर तथा एक स्पेयर) तथा ११ केभीका ५ वटा बे (एक इनकमर, चार आउटगोइङमध्ये दुई स्पेयर सहित) स्थापना गरिएको छ। साथै नियन्त्रण कक्ष (Control Room) तथा कर्मचारी आवाससहितको कार्यालय भवन समेत निर्माण गरिएको छ।

करिब रु. १० करोड लागतमा सम्पन्न यस आयोजनाले लेटाङ नगरपालिका तथा बेलबारी नगरपालिका क्षेत्रका हजारौं विद्युत् उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

सबस्टेशन सञ्चालनमा आएपछि वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक हानिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत् अवरोध न्यून हुने तथा राजस्व संकलनमा वृद्धि हुने विश्वास गरिएको छ। साथै मानवविहीन तथा पूर्ण स्वचालित प्रणाली भएकाले सञ्चालन तथा मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा सञ्चालन खर्चमा समेत उल्लेखनीय कमी आउनेछ।

यस परियोजनामा प्रयोग गरिएको प्रमुख उपकरणहरूमा CG Make को Auto Recloser तथा Siemens SCADA System रहेका छन्, जसले दूरस्थ नियन्त्रण (Remote Monitoring and Control) मार्फत सबस्टेशनको सुरक्षित तथा प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछ।

परियोजनाको सफल परीक्षण, कमिसनिङ तथा चार्जिङसँगै कोशी प्रदेशको विद्युत् वितरण प्रणाली थप भरपर्दो, आधुनिक तथा स्मार्ट ग्रिड प्रविधितर्फ उन्मुख भएको सम्बन्धित पक्षहरूले बताएका छन्।

नेपाल विद्युत प्राधिकरण तथा निर्माण कम्पनीका प्राविधिक टोलीहरूको संयुक्त प्रयासबाट सम्पन्न भएको यो आयोजना देशको विद्युत् वितरण प्रणाली स्वचालन (Distribution Automation) को क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

लेटांग क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विधुत आपूर्ति सम्बन्धि समस्याका कारण स्थानीय उपभोक्ताबाट ब्यापक गुनासो आएपछि नेपाल विधुत प्राधिकरणका का. मु. कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले तत्काल वैकल्पिक ब्यबस्था गरी सबस्टेसन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । साेहीअनुसार कोशी प्रादेशिक कार्यालयले विराटचोक देखि केरुंगसम्म निर्माण भएको ३३ केभी लाइन सन्चालन गरि द्रुत गतिमा सबस्टेसन संचालनमा ल्याएको प्राधिकरणले जनाएकाे छ ।

Health Tips Ad Road Block