काठमाडौं । आगामी सन् २०२६, २७ मे का दिन काठमाडौंमा दोस्रो संस्करणको एभरेष्ट समिटियर्स समिट–२०२६ आयोजना हुने भएको छ । एभरेष्ट एलायन्स नेपालले …..भन्ने मूल नाराका साथ एभरेष्ट समिटियर्स समिट २०२६ को आयोजना हुने राजधानीमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस अवसर पारि २७ मे का दिन काठमाडौंमा समिट आयोजना हुने आयोजकले जनाएको छ।
पहिलो संस्करणको सफलतामाथि आधारित यस समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोहीहरू, नीतिनिर्माता, पर्वतारोहण संस्थाहरू, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरू एकै थलोमा भेला हुने आयोजकको भनाइ छ । समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो र हिमाली पर्यटन अभियानहरूको भविष्यबारे उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने बताइएको छ ।
सन् २०२५ मा …. भन्ने नारासहित सम्पन्न पहिलो एभरेष्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक ऐतिहासिक तथा प्रभावशाली आयोजनाका रूपमा व्यापक रूपमा चिनिएको आयोजकको दाबी छ । आयोजकले भनेको छ, ‘उक्त समिटले विश्वभरका सगरमाथा आरोहीहरू, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्थाहरू, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारवाला तथा सञ्चार माध्यमलाई एकत्रित गर्दै अर्थपूर्ण नीतिगत छलफल, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण तथा विश्वव्यापी पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई थप सुदृढ बनाएको थियो, जसबाट दोस्रो संस्करणका लागि बलियो आधार तयार गरेको छ ।’
एभरेष्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणमा सीमित नराखी, सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन तथा नैतिक र समुदाय(केन्द्रित पर्वतीय पर्यटनको प्रवर्धन गर्ने दूरदर्शी समिटका रूपमा परिकल्पना गरेको जनाएको छ । एकदिने यस समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवादहरू समावेश हुनेछन्, जसमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरुका समृद्धि, अभियान सुरक्षा तथा नीतिगत सुधार जस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त चुनौतीहरूबारे छलफल हुनेछ । साथै सगरमाथालाई साझा विश्व सम्पदा मान्दै सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिने बताइएको छ ।
समिटका सत्रहरू सगरमाथा आरोहीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन् । एभरेष्ट समिटियर्स समिट २०२६ मानव सहनशीलता, सहकार्य र प्रकृक्तिप्रतिको सम्मानको प्रतिक हुनेछ, जहाँ नेपाल तथा विश्वभरका आरोहण र संरक्षण समुदायका सहभागिता रहने अपेक्षा गरिएको छ । एभरेष्ट एलायन्स नेपालले सरकारी निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, पर्वतारोहण महासंघहरू, शैक्षिक संस्थाहरू, प्रायोजकहरू, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि एभरेष्ट समिटियर्स समिट २०२६ लाई एक ऐतिहासिक विश्वस्तरीय कार्यक्रम बनाउन सहकार्य गर्न आमन्त्रण समेत गरेको छ । यसका साथै एभरेष्ट समिटियर्स समिट २०२६ मा सहभागिताका लागि विश्वभरका सगरमाथा आरोहीहरू तथा यस ऐतिहासिक कार्यक्रमको अनुभव लिन इच्छुक सम्पूर्ण सहभागीहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको समेत सो अवसरमा जानकारी दिइयो ।






















