नेपालगंज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच पुस ११ र १२ गते महाधिवेशन सम्पन्न भएको हो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच महाधिवेशन मूल कार्यक्रमको समुद्घाटन गरेका थिए ।
संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हाे । अध्यक्षमा रविन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कविराज बराज, महासचिवमा ऋषिराम ज्ञवालीसहित ४१ सदस्यीय केन्द्रीय समिति निवार्चित गरिएको छ । महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलतापूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
आम कर्मचारीहरुले संघमाथि देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिति परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, ब्यानरसहित प्रभातफेरी गरेका थिए ।





















