काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आजदेखि माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुने जनाइएको छ।
आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक तोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।
आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबी गर्दै निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरेका छन्। उनले मुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्त गराउन अब सडकबाट दबाब सिर्जना गर्न आवश्यक भएको उल्लेख गर्दै निर्णायक संघर्षमा साथ दिन सबै देशबासीलाई अपिल गरेका छन्।
आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीत दिशामा अघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको र संविधानमा रहेको शासकीय स्वरूपले जनताको वास्तविक भावना तथा आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाइएको छ। विद्यमान राजनीतिक संरचना र संविधानकै कारण मुलुक दीर्घकालीन राजनीतिक र संवैधानिक संकटमा फस्दै गएको ठहर आन्दोलनकारीहरूको छ।
संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फत राजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुने आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने उनीहरुको दाबी छ । विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूको सक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधार बनाइने आयोजकहरूको भनाइ छ।



















