काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरण सम्पन्न भइसकेपछि आजबाट क्वालिफायर खेल सुरु हुँदैछ । अब पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स मात्र उपाधि होडमा रहेका छन् । बाँकी अरु टिम बाहिरिसकेका छन् । त्यसै अन्तर्गत समूह चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच आज पहिलो क्वालिफायर भिडन्त हुँदैछ । आजको खेलमा जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ । यता पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल पुग्ने अर्को मौका रहने छ । काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच बुधबार हुने इलिमिनेटरमा विजयी टिम र पहिलो क्वालिफायरमा हार्ने टिमबीच बिहीबार दोस्रो क्वालिफायर हुने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजेताबीच शनिबार फाइनल भिडन्त हुनेछ ।
सुरुका छ खेल जितेर प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको सुदूरपश्चिम रोयल्सलाई दुई दिनअघि विराटनगर किङ्ग्सले छ विकेटले हरापछि उसको अपराजित यात्रामा पुर्णविराम लागेको थियो । यही टिम सुदूरपश्चिमका लागि खतरा पनि उत्तिकै रहेको छ । सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरको विदेशी खेलाडीका कारण ब्याटिङ राम्रो देखिएको छ । बलिङमा सन्दिप आफैं पनि काफी छन् ।
यता दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम बदला लिएर फाइनलमा पुग्ने दाउमा छ । एक खेलबाहेक सबै खेलमा सुदूरपश्चिमले निकै प्रभावशाली प्रदर्शन गरेको छ । विदेशी र घरेलु दुवै खेलाडीका कारण सुदूरपश्चिम पनि सशक्त देखिन्छ ।
आजको खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ ।





















