काभ्रे । स्तरोन्नतिको काम भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार २२ गतेदेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा आउँदो साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।
सो सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ । अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समितिले सडक निर्माणलाई सहजीकरणका निम्ति यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने जनाएको छ । तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइनेछ । सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने भएको छ ।





















