काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने उद्घोष गरेकी छन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ।’
भ्रष्टाचारीहरु विरुद्ध कठोर बन्ने भन्दै उनले भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्। यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
उनले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह समेत गरेकी छन् ।






















