Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गभर्नर पौडेलद्धारा अर्थमन्त्री खनालसमक्ष राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन् । तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई विवरणमा प्रस्तुत गरिएको छ ।

वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ। प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ हानि समायोजनअधिको खुद आय अघिल्लो वर्षको तुलनामा ८.१ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कार्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २८.२३ प्रतिशतले वृद्धि भई रु.२६ खर्ब ७१ अर्ब २३ करोड ८५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८१ मा बैंकले बासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ। साथै, ऐनको दफा ८३ (१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

Health Tips Ad Road Block