काठमाडौं । शेयर बजारमा धेरै किसिमबाट अनियमितता हुने गर्छन् । यी अनियमितताबाट एउटा निश्चित समूह तथा व्यक्तिलाई फाइदा पुगे तापनि सर्वसाधारण लगानीकर्तालाई भने मर्का परिरहेको तथा बजारको अनुगमन तथा नियमन गर्ने व्यक्ति तथा संस्थाहरू सदैव सचेत हुन जरुरी हुन्छ। स्वच्छ र पारदर्शी शेयर बजार निर्माणको लागि यस्ता अनियमिततादेखि लगानीकर्ता देखिन्छ। शेयर बजारमा हुने केही अनियमितताहरूलाई यहाँ प्रस्तुत गरिएको छ।
पुलिंग
औपचारिक वा अनौपचारिक तवरबाट समन्वय गरी शयरको मूल्यमा परिवर्तन गराएर फाइदा लिने प्रक्रियालाई पुलिङ्ग भनिन्छ। यस्तो कारोबारमा लगानीकर्ताहरू समूह बनाई आफैंबीचमा नै किनबेच गर्छन् । संगठनात्मक प्रक्रियाबाट आफू आफैँबीच शेयर किनबेच गर्नुको प्रमुख उद्देश्य बजारमा कुनै कम्पनीको शेयर धेरै कारोबार भएको देखाउनु, मूल्य वृद्धि गर्नु र अन्य लगानीकर्तालाई अकर्षित गरी बढी मूल्यमा बिक्री गरेर नाफा कमाउनु हो।
समूह बनाई अनाधिकृतरूपमा नाफा आर्जन गर्न खोज्ने लगानीकर्ताहरू विभिन्न क्रियाकलापमा संलग्न हुने गर्छन् । यस्तो समूहमा कसैले पुँजी उपलब्ध गराउँछन् । कसैले कम्पनीको आन्तरिक सूचना संकलन गर्छन् । कसैले यो समन्वयको व्यवस्थापन गर्छन् । मूल्यलाई बढाउँदै लग्दा लगानीकर्ताहरू अझ मूल्य बढ्ने आसमा लगानी गर्न उत्साहित हुँदै जान्छन् । शेयरको माग बढ्दै जान्छ । यही समयमा पुलिंगका सदस्यहरूले कम मूल्यमा किनेको शेयर बिक्री गर्छन् । बजारबाट बाहिरिन्छन् । त्यसपछि बिनाआधार बढेको शेयर मूल्य क्रमसँग घट्दै जान्छ । उच्चतम मूल्यमा किन्ने लगानीकर्ताहरू मर्कामा पर्छन् । यसप्रकारको कारोबारको वास्तविकता सामान्य लगानीकर्तालाई थाहा हुँदैन । शेयर बजारमा गरिने यो एउटा अपराध हो ।
भण्डारीकरण
यस प्रकारको कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएका कुन कम्पनीको सम्पूर्ण शेयर किन्छ। यसले गर्दा शेयर एउटा समूह वा व्यक्तिमा केन्द्रित हुन्छ। बजारमा शेयरको अभाव सिर्जना हुन्छ । आपूर्ति बन्द हुन्छ । शेयरको आपूर्ति कम भई माग बढ्दा शेयरको मूल्य बढदै जान्छ । शेयरको माग बढदै जाँदा यस क्रियाकलापमा संलग्न व्यक्ति वा समूहले स–सानो संख्यामा शेयर बिक्री गर्छ । बजार अझ उच्चाइतर्फ जान्छ। विस्तारै आपूर्ति बढाउँदै जान्छन् । उच्चतम विन्दुमा पुर्याएपछि सबै बयर बिक्री गर्छन् । नेपालमा पनि यस प्रकृतिका कारोबार हुने गरेको पाइन्छ । यसरी भण्डारण गरी सेवाको कारोबार गर्नु पनि शेयर बजारभित्र गरिने अर्को अपराध हो।
सांगठनिक चाल
यसप्रकारको कारोबारमा सक्रिय आपराधिक गिरोहले कुनै कम्पनीका बारेमा अनावश्यक हल्ला चलाएर शेयर मूल्य प्रभावित गराउँछ । यसो गर्नुको प्रमुख उद्देश्य बजारमा लगानीकर्तालाई सो कम्पनीको शेयर किन्न आकर्षित गर्नु वा बिक्री गर्न लगाउनु हो। यसबाट शेयर तुरुन्तै बिक्री हुने वा डरको कारण सस्तोमा शेयर खरिद गर्न सकिने हुन्छ। जसबाट यो चाल चाल्नेले राम्रै पुँजीगत लाभ आर्जन गरि रहेका हुन्छन् ।
र्याम्पिङ
बजारमा कारोबार हुने अन्तिम समयभन्दा केही अगाडि बनावटी रूपमा शेयरको मूल्य छिटोछिटो बढेको देखाई लगानीकर्तालाई आकर्षित गरी फाइदा लिनुलाई र्याम्पिङ भनिन्छ । यसरी छिटोछिटो मूल्य बढ्नुले सेयरको माग अत्याधिक रहेछ भन्ने कुरालाई संकेत गर्छ र बजार अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ। यस्तो कारोबारले भोलिको कारोबारमा माग सिर्जना गर्ने काम गर्छ।
वासलेल
वाससेलरले आफूसँग भएको शेयर आफ्नो परिवार अथवा नातेदारको नाममा बिक्री गर्छ। यो कारोबार आफूसँग भाएको शेयर आफैंलाई बिक्री गर्नु बराबर हो। त्यसैले यो कुनै बिक्री होइन। वाससेलमा लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको शेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गर्छ। यसरी किनबेच गर्नुको उद्देश्य कम्पनीको शेयर कारोबार भएको अर्थात् मूल्य घटबढ भएको देखाउनु हो। अर्को उद्देश्य कम मूल्यमा कारोबार गराई घाटा देखाउनु र उक्त घाटालाई नाफामा घटाई कर छुटको फाइदा लिनु पनि हो। यस्तै अर्को उद्देश्य कम मूल्यमा आफ्नो शेयर आफैंलाई बिक्री गरी बजारमा मूल्य घटेको देखाउने र सस्तो मूल्यमा गर खरिद गर्नु हो। नेपालको शेयर बजारमा पनि यसप्रकारका कारोबारको कमी छैन।
कारोबार मिलान
कम्पनीको खरिद र बिक्री आदेश एउटै ब्रोकरलाई प्राप्त छ भने आफैं क्रेता तथा बिक्रेता आदेशलाई मिलाई एकतर्फको मूल्य कम वा बेसी गराई गर्ने कारोबार म्याचिङ हो। यो कारोबारमा गलत नियत राखेर कारोबार गर्दा क्रेता नजिकको व्यक्ति भए मूल्य घटाएर म्याचिङ गर्नै तथा बिक्रेता नजिकको भएर मूल्य बढाएर म्याचिङ गर्ने काम गरिन्छ। यस्तो कार्यलाई नेपालमा २०६३ असोज महिनाबाट प्रतिवन्ध लगाइए तापनि कारोबार हुन छाडेको छैन ।
भित्री कारोबार
कम्पनीका अति गोप्य सुचनालाई लिएर गरिने कारोबारलाई भित्री कारोबार भनिन्छ । सार्वजनिक नगरिएका सूचनालाई भित्री वा गोप्य सूचना भनिन्छ। भित्री कारोबारमा विशेषगरी कम्पनीका कर्मचारी सञ्चालक वा मुख्य ओहदामा बसेका व्यक्तिले सूचना सार्वजनिक हुनुअगावै सोही कम्पनीको शेयर किनबेच गरी फाइदा लिन्छन्। उदाहरणको लागि कम्पनीको सञ्चालक समितिले बोनस शेयर वितरण गर्ने निर्णय गर्यो तर सार्वजनिक गरेको छैन भने यही सूचनालाई आधार मानी निर्णयमा बस्ने र थाहा पाउने व्यक्तिले सूचना सार्वजनिक अगावै दोस्रो बजारबाट उक्त कम्पनीको शेयर किनेर संग्रह गर्छ र सूचना सार्वजनिक भएपछि हुने मूल्य वृद्धिसँगै बिक्री गरी फाइदा लिन्छ। नेपालको शेयर बजारमा यो कारणले पनि ठूला अनियमितता हुने गरेका छन् । तर सूचनाको पहुँचमा हुनेले भित्री कारोबार आफ्नो नाममा नगरी अन्य व्यक्तिको नाममा गर्ने भएकाले यसप्रकारका कारोबारको पुष्टि हुन गाह्रो हुन्छ।
दण्ड सजाय
शेयर बजारमा हुने अनियमिततालाई नियन्त्रण र दण्डित गर्न धितोपत्र ऐन, २०६३ को दफा १२१ ले दण्ड सजायको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसारः
१. भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगोबमोजिमको जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
२. झुटो कारोबार, मूल्य कृत्रिम रूपमा उतारचढाव गराउने र बजारलाई प्रभावित पार्ने काम गरेमा पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
३. झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, जालसाज गरी वा झुक्याउनमा पारी धितोपत्रको कारोबार गरेमा वा लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा उक्त काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानीसमेत भराई दिनपर्ने पनि ऐनमा व्यवस्था छ।
(यो लेख शेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक नेपालको शेयर बजारबाट लिइएको हो ।)






















