काठमाडौं । अबदेखि जेष्ठ नागरिकलाई हवाई टिकटमा ८० प्रतिसतसम्म छुट हुने भएको छ । वायुसेवा संचालक संघ, नेपालले यसबारे जानकारी दिएको हो । एक विज्ञप्ति जारी गर्दै संघले ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई ८० प्रतिशतसम्म छुट हुने जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतमा वायुसेवा संचालक संघ, नेपालका पदाधिकारी एवं सदस्यहरु र कम्पनीका प्रतिनिधिबीचको वार्ताले यो निर्णय गरेको संघले जनाएको छ । त्यसैगरी फरक क्षमता भएका नागरिकलाई पनि छुट दिने निर्णय भएको छ ।
संघले जारी गरेको विज्ञप्तिअनुसार ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकत्तम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय भएको हो ।
त्यस्तै जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा उपरोक्त अनुसारकै न्यूनतम् ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय भएको संघले जनाएको छ ।
संघले सहुलियत दरको टिकट लिनका लागि सम्बन्धित निकायबाट जारी गरिएको परिचयपत्र पेश गरी सम्बन्धित वायुसेवा कम्पनीबाट टिकट जारी गर्नु पर्ने जनाएको छ । साथै संघले सहमति भए अनुरुपका विषयहरुलाई आजैका मितिबाट कार्यान्वयन गर्न समेत सेडुअल उडानमा रहेका सदस्य वायुसेवा कम्पनीहरुलाई अनुरोध गरेको छ ।






















