काठमाडौं । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चने प्रक्षेपण छ ।
धानबालीमा रोपाईमा ढिलाई र भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण बढेको राजनीतिक एवं आर्थिक अस्थिरता र अशान्तिका कारण नेपालको आर्थिक वृद्धिदर घ६ेर २.१ प्रतिशतमा खुम्चने अनुमान विश्व बैंकको छ ।
विश्व बैंकले दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ मा यो अनुमान सार्वजनिक भएको हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।
प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा गिरावट आउने र सम्पत्ति नोक्सानीले बीमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको छ । त्यस्तै लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा बाधा पुर्याउने प्रक्षेपण विश्व बैंकको छ ।
सरकारी र निजी क्षेत्रले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सार्वजनिक सम्पत्तिमा एक खर्ब र संगठित निजी क्षेत्रको सम्पत्तिमा ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । बीमा क्षेत्रमा २३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ । कतिपय बीमा नगरिएका सम्पतीको नोक्सानी उस्तै छ ।
प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत रहने छ । त्यसपछि भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, माल्दिभ्स ३.९ प्रतिशत र श्रीलङ्काको ३.५ प्रतिशत रहने प्रक्षेपण छ ।






















