काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले भदौ २३ गते सोमबार यता जेनजी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परि जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्यटन प्रवर्द्धनको सपना नटुटेको र विचलित नभएको स्पष्ट पारेको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दै लिमिटेडले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति कम्पनीले सम्मान र साझा उद्देश्य रहेको जनाएको छ । तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले भनेको छ, ‘हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। प्रदर्शनकै क्रममा मङ्गलबारअन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ। यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा हामी कति पनि विचलित भएका छैनौँ । यहाँहरूले देखाउनु भएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौँ । हामी पुनः उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ ।’
कम्पनीले आफूहरुसँग जोडिएका कर्मचारी, उनीहरुको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुने बताएको छ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षासहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको कम्पनीले सबैलाई विश्वास दिलाएको छ ।
‘यस कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिनु भएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूले देखाउनुभएको सक्रिय सहयोग र तदारुकताप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ। यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। साथै स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गर्दछौँ।’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।






















