काठमाडौं । भदौ २३ गते सोमबारको जेनजी पुस्ताको आन्दोलनका क्रममा एकैदिन कम्तिमा १९ जनाको ज्यान गएको छ । भ्रष्टाचार अन्त्य र सुशासन मागेका युवा, सामाजिक सञ्जाल नियमित सञ्चालन गर्नुपर्ने लगायतका माग बोकेका कलिला युवालाई सरकारले बर्बर दमन गरेको भनेर चौतर्फी आलोचना सुरु भएको छ । सोक्रममा काठमाडौं र सुनसरीमा गरी कम्तिमा १९ जनाको ज्यान गएको हो । विभिन्न अस्पतालमा अझैपनि गम्भिर घाइतेहरु रहेका छन् । उनीहरुको संख्या ४ सय भन्दा माथि रहेको बताइएको छ । यसक्रममा दर्जनौं सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
हिजोको शान्तिपूर्ण प्रदर्शनमा घुसपैट भएपछि स्थिति अशान्त बनेको बताइएको छ । अस्पतालका डाक्टरहरुले युद्धको झल्को लागेको प्रतिक्रिया दिएका छन् । भदौ २४ गते अहिले पनि देशभरका अस्पतालमा साढे तीन सयको हाराहारीमा युवाहरुले उपचार गराइरहेको जानकारी प्राप्त भएको छ ।
१९ जनाको ज्यान जानेगरी भएको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन् । यस घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट चौतर्फी विरोध भइरहेको
छ । सरकारले वस्तुस्थितिको आँकलन नगरी नचाँहिदो बल प्रयोग गरेको अधिकाँशको प्रतिक्रिया रहेको छ । सरकारले नैतिक वैधानिकता गुमाइसकेको पनि प्रतिक्रिया कतिपयको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एक वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरी सार्वजनिक सम्पतिको रक्षा गर्नु राज्यको दायित्व भएको बताएका छन् । कतिपयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई नागरिकको ज्यान ठूलो कि सार्वजनिक सम्पति भनेर प्रतिप्रश्न गरेका छन् ।
प्रदर्शनकाक्रममा घुसपैट भएको् भनिएको छ । यस्तो स्थिति हुनसक्नेलाई पनि आँकलन गरेर सबै संयमित रहनुपर्ने देखिन्छ । यो प्रदर्शन यतिकै सेलाउने पक्षमा नभएको देखिन्छ । यसबारे पनि समयमै ध्यान दिएर अझै ठूलो क्षति नहुनेतर्फ सबै सचेत बन्नुपर्ने देखिन्छ ।






















