पोखरा । मुलुकको खानेपानी तथा सरसफाई क्षेत्रमा विगत लामो समयदेखी स्वच्छ एवं गुणस्तरीय खानेपानी वितरण तथा व्यवस्थापन गरी उपभोक्ताहरुको हित अनुकुल बहस पैरवी गर्दै आएको राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको प्रथम गण्डकी प्रदेश भेला पोखरामा सम्पन्न भएको छ । पूर्व संघीय स्वास्थ, गृहमन्त्री तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलामा गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्ये ९ जिल्लाका उपभोक्ता संस्था समितिको तर्फबाट लगभग २०० जनाको उत्साहजनक सहभागिता थियो। भेलाले उपभोक्ता संस्थाहरु बीचको अनुभव साटासाट, खानेपानी वितरण र व्यवस्थापनका चुनौती र समाधानका उपाय लगाएतका विविध विषयमा छलफल भई “पोखरा घोषणापत्र जारी गर्यो। उक्त भेलाले ११ सदस्य रहेको गण्डकी प्रदेश कमिटी सर्वसम्मत चयान गर्दै भेला सम्पन्न भएको अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
भेलाले पारित गरेको यस्ता छन् ७ बुँदे घोषणापत्रहरु:
१) राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको प्रथम गण्डकी प्रदेश भेलामा सहभागी हुनु हुने, प्रमुख अतिथि, विशिष्ठ अतिथि, विशेष अतिथि, नगर विकास कोष, अतिथिहरु, पत्रकार, ९ जिल्लाबाट उपस्थित हुनु भएका उपभोक्ता संस्थाहरु, प्रायोजन गरी सहयोग गर्ने उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा, दियालो टेक्नोलोजी प्रा.लि. र राम लक्ष्मी मोटर हाउस नारायणगड चितवन गायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्यो ।
२) यस महासंघले पेश गरी राष्ट्रिय सभाबाट हालै पारित भएको खानेपानी सम्बन्धी “राष्ट्रिय संकल्प प्रस्ताब” कार्यान्वयन गराउन नेपाल सरकार लगायत सबै सरोकारवाला निकायहरुसंग जोडदार माग गर्ने ।
३) सबै प्रकारका खानेपानी आयोजनाहरुको दायित्व राज्यले लिनुपर्ने भएकोले “जनताको पानी सरकारको लगानी” भन्ने भावनालाई कार्यान्वयनको लागि जोडदार माग गर्ने ।
४) खानेपानी सेवा प्रदायक संस्थाहरु गैह्र नाफामूलक भएकोले करमुक्त आयोजना निर्माण र संचालन गर्न तथा नगर विकास कोषको ऋणमा व्याजदर घटाउने साथै खानेपानी क्षेत्रको जोखिम बीमाको लागि आवश्यक प्रबन्ध गर्न माग गर्ने ।
५) हालै संघीय खानेपानी मन्त्रालयबाट कार्यालयको संरचना घटाई खानेपानी सेवा प्रभावित भएकोले खारेजमा परेका कार्यालयहरुबाट सेवा निरन्तर संचालन गर्न जोडदार माग गर्ने ।
“nwash software” मा सबै डाटाहरु इन्ट्री गरी WASH plan तयार गर्न सबै तहका सरकारलाई जवाफदेही बनाउन जोडदार माग गर्ने ।
७) सरसफाई र वातावरणलाई उच्च प्राथमिकतामा राखी डिजाईन चरणबाटै वातावरणिय प्रभाव मूल्याङ्कन गर्दै प्रविधिमैत्री र सुरक्षित खानेपानी आयोजना संचालन गर्न माग गर्ने।






















