काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन्। एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै भने, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।” उनले भने, “कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ। राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो। मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ। अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए। उनले भने, “पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ। केही प्रदेशहरूको बैठक बसेका छौँ। यो पाँचौँ प्रदेशको बैठक हो। अहिले समय अभाव भयो , छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु। अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ।”
“पार्टीले राम्रोसँग महसुस गरेको छ कि, मध्यपूर्व र एसियालाई महत्व नदिए पार्टीलाई राम्रोसँग अगाडि बढाउन सकिन्न। प्रवासमा रहेका साथीहरूलाई पार्टीमा महत्व दिने गरी थप निर्णय गर्छौँ,” उनले भने।
पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गर्दै, “प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन,” भन्दै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताए । उनले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको र सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढंगले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्नेमा जोड दिए। उनले भने, “लामो छलफल र बहस गरेर स्थायी समिति बैठकले पार्टीमा अराजकता देखिए कारबाही गर्ने निर्णय सर्वसम्मतिले लिएको छ। कसैले पार्टीको नीति र पद्धति विपरीत लेख्ने–बोल्ने गरेको भए अनुशासनको स्पष्टिकरण सोध्ने काम गर्न निर्देशन दिन्छु।”
अनुशासनको स्पष्टिकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्ने उनले बताए। पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैले भूमिका खेल्न आवश्यक रहेको पनि उनले बताए। अध्यक्ष प्रचण्डले पार्टीलाई जनतामैत्री, संगठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्नेतर्फ लाग्न सबै कार्यकर्तालाई आह्वान गरे। “हामी फेरि अभियानमा जाँदैछौँ। अब हरेक क्रान्तिकारी कमरेडले पार्टी एकताका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” उनले भने।
पार्टीका विभिन्न अभियानमा देशभर जाँदा पार्टी नेतृत्व र नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा पनि भरोसा रहेको उल्लेख उनले गरे।
“केही मान्छेहरूले कांग्रेस, एमाले र माओवादी एउटै हो भन्न खोजे पनि आम जनताले जनताको पक्षमा काम गर्ने त माओवादी केन्द्र नै रहेछ भन्ने महसुस गरेका छन्। पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस र एमालेका स्थानीय नेताहरूले मलाई भेट्दा, ‘यो परिवर्तन माओवादीले ल्याएको हो। यसको रक्षा पनि माओवादीले नै, प्रचण्डले नै भूमिका खेल्नुपर्छ,’ भन्छन्। मैले भन्ने गरेको छु मलाई होइन, जनतालाई भन्नुहोस्, तपाईंहरूकै नेताहरूलाई भन्नुहोस्,” उनले भने।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा प्रवासी नेपालीको पक्षमा गरेका कामहरूको स्मरण गर्दै नागरिकता दिने निर्णयको कार्यान्वयनलाई लिएर वर्तमान सरकारको गतिविधिको आलोचना गरे। “हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक विभेदको विरुद्ध सामाजिक न्यायका पक्षमा काम गर्यौँ। सामाजिक सुरक्षाका क्षेत्रमा पनि तपाईंहरूकै सल्लाहमा विदेशमा रहेका प्रवासी मजदुरलाई समेट्ने अभियान सुरु गरिएको थियो। तर अहिलेको सरकारले ती कामलाई अगाडि बढाउन सकेको छैन। प्रवासी नेपाली नागरिकलाई नागरिकता दिने ऐतिहासिक निर्णय गरियो, तर अहिलेको सरकारले त्यसलाई कागजको खोस्टाजस्तो व्यवहार गरिरहेको छ।”
संगठनका अध्यक्ष सनीकुमार ओलीको अध्यक्षतामा बसेको एशिया प्रदेश संगठन समितिको बैठक सचिव भवानी पन्तले सञ्चालन गरेका थिए।





















