काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् । मन्त्री पाण्डेले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने, ‘एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन। दिगो रूपमा माउन्टेरिङको रूपमा काम गर्नका लागि तपाईंहरूको रचनात्मक सहयोग चाहिन्छ ।’
मन्त्री पाण्डेले “एनएमएमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको” भन्दै अधुरा परियोजनाहरू पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । उनले पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटकसमेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।
नेपालका हिमालहरूमा आरोहणलाई सहज बनाउन सरकारले पछिल्लो पटक ९७ वटा हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए । साथै निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।
“पर्वतारोहण नेपालकै ठूलो सम्भावना भएको क्षेत्र हो। जोखिम न्यूनिकरण गर्दै यसलाई दिगो रूपमा अघि बढाउन संघको रचनात्मक सहकार्य आवश्यक छ,” मन्त्री पाण्डेको भनाइ थियो। उनले पर्यटन नीति र ऐनमार्फत धेरै सुधार हुने विश्वास व्यक्त गर्दै संघलाई सृजनात्मक र प्रभावकारी नेतृत्व दिन शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकोमा जोड दिँदै दैनिक विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा ‘दावा टशी शेर्पाद्वारा लिखित शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए। पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयं मात्र बाँच्न सफल भएका थिए।






















