काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । पहिलो महिनामा देशलाई एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । साउनमा छिमेकी मुलुक भारतसँग मात्रै ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात हुँदा १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात भएको छ । त्यस्तै चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र पाँच करोड ४८ लाखको निर्यात भएको छ ।
साउनमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको तथ्यांकले देखाउँछ । विभागका अनुसार पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल आयात भएको देखिन्छ । मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल निर्यात भएको छ ।






















