काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिका फेरि पनि देशकै उत्कृष्ट पालिकाहरु घोषित भएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा गाउँपालिका तर्फबाट बेनीघाट रोराङ गाउँपालिका र नगरपालिकाकाका तर्फबाट निलकण्ठले निरन्तरता दिँदै फेरि उत्कृष्ट पालिका भइ सम्मानित भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष ९२.५० अंक ल्याएर प्रथम भएको नीलकण्ठ नगरपालिकाले यो वर्ष अझ सुधार गर्दै ९३.५ अंक प्राप्त गर्दै देशकै पहिलो पालिका बनेको छ । यसैगरी गतवर्ष उत्कृष्ट भएको बेनीघाट रोराङ यस वर्ष ९१.७५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशकै प्रथम र समग्रतामा देशकाे तेस्रो पालिका बनेको छ ।
सुशासन, पारदर्शिता, शिक्षा–स्वास्थ्य, पूर्वाधार विकास, कृषि तथा रोजगारी सिर्जनाजस्ता क्षेत्रमा देखिएको उपलब्धिले यसलाई अग्रस्थानमा पुर्याएको हो । यसै कारण निलकण्ठ र बेनिघाट रोराङ सम्मानित भएका हुन् । निलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै लगातार उत्कृष्ट पालिकाको रूपमा स्थापित भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना र बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) लाई एक कार्यक्रमकाबीच सम्मान गरिन् ।
मन्त्रालयका अनुसार धादिङको नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई सम्मान गरिएको हो ।






















