काठमाडौं । नाडा अटो शो-२०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको दाबी रहेको छ । यस वर्ष केवल ४ दिनमै १,०४,३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शोप्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ ।
यस नाडा अटो शो मा दैनिकरुपमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्र्रसाद दाहाल, उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री योगेश भट्टराई, प्रतिनिधिसभा सदस्य हरि ढकाल, प्रतिनिधि सभा सदस्य शिशिर खनाल तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले अवलोकन गरेका छन् ।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर रावत, नेपाली सेनाका रथी निर्मल कुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेश कुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग लगायतले प्रदर्शनीको अवलोकन गरेका छन् ।
सोहीक्रममा नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मीु, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल कप्तान सवित्रा भण्डारी समेतले नाडा अटो शो–२०२५ को अवलोकन गरेका छन् ।
नाडा अटो शो–२०२५ का दौरान अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको प्रतिनिधिमण्डलले नाडा अटो शो अवलोकन गरेका छन् । अवको बाँकी दुई दिन आज र भोलिमा अन्य विशिष्ट व्यक्तिहरुले पनि आटो शो अवलोकन गर्ने अपेक्षा नाडाले राखेको छ ।
‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा शुभारम्भको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’ अध्यक्ष कराण चौधरीको भनाइ छ ।
यस ऐतिहासिक सफलतामा योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट आभार प्रकट गरिएको छ । नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि हो, नाडाले भनेको छ ।






















