काठमाडौं । नेपाल किसान महासंघको अधिवेशनको संयोजन गर्न गठित निर्देशक समितिका संयोजक रमेश रिजाल नेपाल किसान महासंघ फुटाउन उद्यत देखिएको महासंघका केन्द्रीय सदस्य आदर्श कार्कीले आरोप लगाएका छन् । उनले नेपाल किसान महासंघको अधिवेशनका विषयमा निर्देशक समिति जानकार रहँदा रहँदै एकपक्षीय रुपमा कसैको उक्साहटमा समय र अवस्था समेत नबुझी मध्य वर्षामा अधिवेशनको मिति तोकेर किसान महासंघमा विद्रोह र फुट ल्याउन खोजेको आरोप लगाएका हुन् ।
किसान नेता कार्कीले महासंघको अधिवेशनका सन्दर्भमा जिल्ला र प्रदेशमा केहि विवादहरु यथावत रहेका बेला उक्त विवादहरु मिलाई एकताको महाधिवेशन गर्न लागिरहेका बेला एकाएक महाधिवेशनको मिति घोषणा हुनु नेपाल किसान महासंघलाई फुटाउने अभियान मात्रै रहेको आफूले बुझेको बताएका हुन् । नेता कार्कीले भने महासंघका बीचमा देखिएका विवादित विषयहरुमा असहमत पक्षले आफ्नो मत भिन्नता यस अघि नै ज्ञापनपत्रमार्फत पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरुलाई समेत जानकारी गराईएको र उक्त बिषयमा पार्टी सभापति र पदाधिकारीहरु समेत सकारात्मक देखिएका बेला एकाएक गरिएको केन्द्रीय महाधिवेशनको नाटक मञ्चनले समग्रमा नेपाल किसान महासंघलाई नै घाटा पुर्याउने नेता कार्कीको भनाई रहेको छ ।
किसान नेता कार्कीले भने स्वयं पार्टी सभापति शेरबहादुर देउवाले समेत यो वर्षा र चाडबाडको समयमा अधिवेशन गर्न सम्भव छैन भनी २/२ पटक सम्म निज रमेश रिजाललाई फोनमार्फत निर्देशन दिएका थिए । त्यसलाई समेत अटेर गरी नेपाली कांग्रेसका पदाधिकारी, निर्देशक समिति र संस्थाका अध्यक्षहरुको बैठकमा समेत उपयुक्त ३ वटा वैकल्पिक समय प्रस्ताव गर्नु भन्ने निर्देशनलाई समेत बेवास्था गर्दै एकाएक अधिवेशनको मिति २०८२ भदौ ५ गते संस्थापन पक्ष र असहमत पक्षका ३/३ जना लाई बैठकमा बोलाई राय बुझ्ने काम गरिएको थियो ।
‘उक्त बैठकमा हामीले आफ्नो स्पष्ट धारणा राख्यौं । हामीले बिधि र प्रकृया नपुर्याई गरिएका प्रदेश अधिवेशनका लागि छानविन समिति गठन गर्न र केन्द्रीय अधिवेशनका लागि ३ वटा वैकल्पिक समय प्रस्ताव गर्नुपर्ने धारणा राख्यौं । बैठक कुनै निर्णयमा नपुगी टुंगिएको थियो । यसमा कुनै प्रकारको सहमति नजुटेपछि हामी बैठकबाट बाहिरिएका थियौं ।’ नेता कार्कीको भनाई छ ।
‘हामी फेरी बैठक बोलाईएला र सहमतिका साथ अगाडि बढन आफ्ना कुराहरु राखौला भन्नेमा थियौ तर हठात भदमै १९ र २० गते अधिवेशन गर्ने मिति फेसबुकमार्फत सम्प्रेषण गरिएको समाचारले हामी स्तब्ध भएका छौं र हाम्रो गम्भीर असहमति रहेको कुरा स्पष्ट पार्न समेत चाहान्छौं ।’ नेता आदर्श कार्कीले बताए । उनको आक्रोश थियो । समग्रमा रमेश रिजाल नेपाल किसान महासंघमा जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म रहेका समस्याहरुमा सहयोगी नबनी महासंघ फुटाउन उद्यत रहेको कुरा हाम्रो ठम्याईँ रहेको छ, उनले भने ।

किसान महासंघका वरिष्ठ केन्द्रीय सदस्य समेत रहेका किसान नेता आदर्श विक्रम कार्कीले पार्टीको केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेता रिजालले किसानहरुका असहमतिका विषयमा सहमति जुटाएर एकताको अधिवेशन गराउन पहल गर्ने कुरामा हामी विश्वस्त हुँदाहुँदै एकपक्षीय तवरले यस्तो हठपूर्ण र एक पक्षीय निर्णय गराएकोमा आफूहरु आश्चर्यचकित भएको भन्दै उक्त निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । ‘यदि त्यसो नगरी ह्याकुलो मिचाइ गरियो भने त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार निर्देशक समितिका संयोजक रमेश रिजाल र सिंगो निर्देशक समिति हुनेछ ।’ किसान नेता कार्कीले भने ।






















