काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको आयोजकको दाबी रहेको छ । यस वर्ष केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । यो तथ्यांकले आर्थिक चुनौती र कठिनाइबीच पनि नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्ने नाडाले जनाएको छ ।
‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’ नाडाका अध्यक्ष करण चौधरीले भने ।
नाडाले यस ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट आभार व्यक्त गरेको छ । ‘नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो ।’ नाडाले दोहोर्याएर स्पष्ट पारेको छ ।





















