काठमाडौं । भदौ ११ गतेदेखि २ कम्पनीको आईपीओ निष्काशन हुने भएको छ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ निष्काशन हुन लागेको हो ।
पहिलोमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।
दोस्रोमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । उक्त शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकका तानशन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि– आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















