काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटगत लडाइँले नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ । संस्थापन र इतर पक्षका नेताहरुको कुरा नमिल्दा महाधिवेशनबारे अन्योलता बढेको हो । असन्तुष्ट पक्षले यसबारे विज्ञप्ति नै निकालेर मुख खोलेका छन् । उनीहरुले दूरदराजका किसान प्रतिनिधि नै सामेल हुन नसक्नेगरी मध्य वर्षाको गलत समयमा महाधिवेशनको मिति तोकेको भन्दै प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् । असन्तुष्ट पक्षले महाधिवेशनको मिति २/३ महिना पछाडि सारेर सबैको प्रतिनिधित्व हुनसक्ने हिसाबले माग गरेको छ । असन्तुष्टहरुको चेतावनीपछि महाधिवेशन अन्योलग्रस्त बनेको हो ।
यस्तो छ असन्तुष्ट पक्षको चेतावनीसहितको प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८१ साल चैत्र २६ गतेसम्म जुनसुकै अवस्थामा पनि नेपाल किसान महासंघको महाधिवेशन गर्नुपर्ने समयसीमा तोकेकोमा उक्त समयसीमा भन्दा ५० दिन अगाडि नै अधिकांश जिल्ला अधिवेशनहरु सम्पन्न भइ सम्पूर्ण कागजातहरु निर्देशक समितिलाई बुझाई सकेको अवस्थामा पनि अनिर्णयको बन्दी झैं गलत नियतका साथ समय गुजारी नेपाल किसान महासंघ केन्द्रीय कार्यासमिति र कार्यसम्पादन समितिलाई समेत नजर अन्दाज गरी महासंघका अध्यक्षको मिलेमतोमा चोरबाटोबाट भाद्र ३ गते मध्य वर्षातको समय पारी महाधिवेशनको मिति तोकिएकोमा आम नेपाल किसान महासंघका सदस्यहरुमा चरम अशन्तुष्टि बढेको कुरा जानकारी गराउन चाहान्छौं ।
अझै पनि केही जिल्लाहरुमा विवाद उत्पन्न भइ जिल्ला अधिवेशन हुन नसकेको अवस्था कायमै रहेको छ । अधिकांश जिल्लाहरुको अधिवेशनको प्रतिवेदन निर्देशक समितिलाई बुझाई सकिएको अवस्थामा निर्देशक समितिका संयोजक र नेपाल किसान महासंघको अध्यक्षको स्वेच्छाचारीता कारणबाट पार्टीले तोकिदिएको समयसीमा(चैत्र २०८१) भित्र महाधिवेशन गराउन असमर्थ देखिएको कुरा यहाँ उल्लेख गर्न चाहान्छौं ।
यती ठूलो भातृ संस्थाको महाधिवेशन तयारीका लागि एक पटक पनि आधिकारिक रुपमा नेपाल किसान महासंघको केन्द्रीय कार्य समितिको बैठक समेत नबसेको उल्टै कार्य सम्पादन समितिलाई समेत गुमराहमा राखी पूर्ण बैठक (कार्य सम्पादन समिति) नै नबसी नेपाल किसान महासंघका केन्द्रीय अध्यक्षको मिलिभगतमा निर्देशन समितिका संयोजकले समेत सबैलाई सहमति गराएर लैजानुको सट्टा अध्यक्षको कठपुतली बनेर निर्णय गरिदिँदा सिंगो महासंघ आक्रान्त र बिक्षिप्त बनेको छ ।
यसरी एकलौटी निर्देशक समितिको संयोजक र नेपाल किसान महासंघका अध्यक्षले आज सबै कार्य सम्पादन समितिका साथिहरु र केन्द्रीय कार्य समितिको पूर्ण बैठक नै नराखी केन्द्रीय महाधिबेशन गर्ने नाटक मञ्चन गरि बिधान विपरित एक पक्षीय ढंगबाट महाधिवेशन गर्न खोजिएकोमा हाम्रो गम्भिर आपत्ति र असहमति रहेको जानकारी गराउँदै यस्तो असंवैधानिक र एकपक्षीय कार्यको विरुद्धमा हामी जुनसुकै कदम चाल्न पनि बाध्य हुनेछौं भन्ने जानकारी समेत गराउन चाहान्छौं ।
श्रावण १२ गतेको कार्य सम्पादन समितिको बैठक अगावै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला र महामन्त्री गगन थापा लगायतका नेताहरुले समेत निर्देशक समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका रमेश रिजाललाई फोन नै गरेर यस्तो मध्य वर्षाको समयमा किसानहरु खेतिपातीमा रहने र प्रतिकुल मौसमका कारण हिमाली र पहाडी जिल्लाहरुबाट किसानका प्रतिनिधिहरु केन्द्रीय महाधिवेशनका लागि राजधानी आउन नसक्ने अवस्था हुने भएकोले भदौ ३ गते गर्ने भनिएको केन्द्रीय महाधिवेशन २/३ महिना पछाडि सारेर गर्न निर्देशन दिँदा समेत शिर्षस्थ नेताहरुको निर्देशनलाई बेवास्ता गर्दै र चुनौति दिँदै एकलौटी रुपमा केन्द्रीय महाधिवेशनको मिति भदौ ३ गते नै तोक्ने कार्य प्रति हाम्रो घोर आपत्ति रहेको छ ।
भदौं ३ गते मध्य बर्षादको समयमा बोलाईएको केन्द्रीय महाधिवेशन दूरदराजका वास्तविक किसान प्रतिनिधिहरुलाई महाधिवेशनमा सहभागी गराउन रोक्ने र राजधानीमा रहेका सुकिलामुकिला आसेपासेहरुलाको जमघट गराएर ताली पड्काउनका लागि केबल प्रपञ्च रचिएको महाधिवेशन मात्रै हो भन्ने हाम्रो ठम्याई छ । त्यसैले नेपाल किसान महासंघको केन्द्रीय महाधिवेशनको मिति अबिलम्ब सार्न र महाधिवेशनमा आम किसान प्रतिनिधिहरुको उपस्थिति सुनिश्चित गर्न गराउन सबै साथीहरुको अपनत्व कायम हुनेगरी महाधिवेशनको सुनिश्चितता गरियोस् भन्ने माग यसै पत्रमार्फत अनुरोध समेत गर्न चाहान्छौं ।
अन्यथा हामी अर्को विकल्प तथा जुनसुकै कदम चाल्न बाध्य हुनेछौं । यसलाई नजर अन्दाज नगर्न संयोजकज्यू र अध्यक्षज्यूलाई ध्यानाकर्षण गराएकोमा हाम्रो माग सम्बोधन नगरी एकलौटी रुपमा महाधिवेशन गर्ने कुचक्र गर्दा आउने गम्भीर परिणाम स्वयं निर्देशक समितिका संयोजक र महासंघका अध्यक्षले ब्यहोर्नुपर्ने जानकारी समेत गराउँदछौं ।
यसले नेपाल किसान महासंघ जस्तो बृहत् संस्थाको महाधिवेशनलाई निर्देशन समितिले आम किसानहरुका प्रतिनिधिहरुको भावनामा खेलवाड गरेको आभाष महशुष गरी गलत मनसायका साथ गरिएको उक्त कार्यप्रति खेद ब्यक्त गर्दै आवश्यक परे कडाभन्दा कडा कदम चाल्न बाध्य हुने कुरा समेत यसै वक्तव्यमार्फत सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।
नेपाल किसान महासंघको केन्द्रीय कार्य समितिको बैठकबाट निर्णय नै नगराई अध्यक्षले बिधान विपरित मनोमानी तवरले धेरै जिल्ला अधिवेशन गराएको बारे सच्याउन केन्द्रीय समिति, कार्य सम्पादन समितिका अधिकांश सदस्यहरुले दिएको सुझावलाई बेवास्ता गर्दै एकलौटी बिधान विपरित कार्य गरी गरिएको अधिवेशनहरुको विवरण २०८२ श्रावण १२ गतेको कार्य सम्पादन समितिको बैठकमा बहुमत सदस्यहरुले माग गर्दा समेत नदेखाईएको र २०८२ भाद्र ३ गते केन्द्रीय महाधिवेशन गर्न पार्टीले तोकेको समय अहिलेको मध्य बर्षामा संभव नहुने भनी केही समय पछि महाधिवेशनको मिति सार्नु पर्ने र बिधान सम्मत पारदर्शिताका साथ सबैको सहभागिता र अपनत्व हुने गरी नेपाल किसान महासंघको केन्द्रीय महाधिवेशन गर्नुपर्ने सुझावलाई निर्देशक समितिका संयोजक र महासंघका अध्यक्षबाट बेवास्ता गरेको प्रति बहुमत कार्यसम्पादन समितिका सदस्यहरुले आपत्ति जनाउँदै असहमति जनाईरहँदा समेत कुनै प्रतिकृया नदेखाए पछि हामी शशक्त प्रतिकारमा निस्कन बाध्य भएका छौं ।
जय नेपाल, जय किसान ।






















