काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड भएको छ । बैंकको एफपीओ कमलादी, काठमाडौंस्थित आफ्नै कार्यालयमा आज बाँडफाँड भएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो । शेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको हो । जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँड गरिएको छ । यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् ।





















