काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुने भएको छ । आयोजक नाइमाले सोमबार पत्रकार सम्मेलन ५० भन्दा बढी ब्राण्डहरु सहभागी हुने जानकारी दिएको हो ।
कार्यक्रमको सञ्चालन गर्दै नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले एक्स्पोबारे सुरुमा जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा अटो एक्स्पो समितिका सदस्य गाैरव सारडाले एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै प्रायोजक, सदस्य, तथा साझेदारहरुलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै एक्स्पोबारे विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने एक्स्पोलाई विशेष बनाइने बताए । प्रदर्शनीस्थलको भौतिक पूर्वाधारमा व्यापक सुधार गरिएको जानकारी दिँदै मुरारकाले विशेषतः जल निकासी, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था उल्लेखनीय रहेको बताए । उनले एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिए । प्रर्दशनीमा १५ वटा दुई पाँग्रे, १५ वटा चार पाँग्रे र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने सो अवसरमा जानकारी दिइयो ।
त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए । एभरेष्ट बैंकले एक्स्पोमा नयाँ आकर्षक प्याकेज ल्याउने एभरेष्ट बैंकका सहायक महाप्रबन्धक ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए । एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको जनाएको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने आयोजकले जनाएको छ ।
यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा साउन २१ सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलाेड गर्ने एक उत्कृष्ट प्रतिष्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा नाइमाकी अध्यक्ष रितु शिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । यसका साथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि उनले जानकारी दिईन् ।
प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “मोबिलिटी हिजो, आज र भोलि” विषयमा ज्ञानवर्घक सत्र संचालन गर्नेछन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकको भनाइ छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध रहनेछ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिने आयोजकले जनाएको छ । मेलामा ८० हजार अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकको अनुमान छ ।






















