skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकले देशभर वित्तीय सेवाको अवस्था मापन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन गर्ने उद्देश्यले ’वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्न लागेको छ । यस सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन तथा समग्र वित्तीय सेवाप्रतिको ग्राहकको धारणा र अनुभव संकलन गरिनेछ । राष्ट्र बैंकले ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर ’र्यान्डम स्याम्पलिङ’ विधिबाट कुल १० हजार ४०५ वटा नमुना संकलन गर्ने योजना तय गरेको छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामक व्यवस्थामा सुधार ल्याउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।

सर्वेक्षणमा सहभागीहरूको सहभागिता पूर्णतया स्वेच्छिक रहनेछ र सहभागीहरूले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् । संकलित विवरण तथा जानकारीहरू ‘तथ्यांक ऐन, २०७९’ अनुसार गोप्य राखिने र केवल सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ ।

Health Tips Ad Road Block