काठमाडौं । एनएमवि बैंक लिमिटेड तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको लागत करिव रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी रु. ४६ करोड ३३ लाख २५ हजार रहने बैंकले जनाएको छ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरे । साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने दाहालले प्रतिबद्धता जनाए । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
त्यसैगरी मन्दाकिनी हाइड्रोपावर लिमिटेडद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवद्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु गरेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको सो अवसरमा जानकारी दिइयो ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड सोसियल रिस्क म्यानेजमेन्ट २०२२ को निर्देशन अनुसार एनएमवि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।






















