Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट ५३०० जनालाई सीपमूलक तालिम प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा ५३०० जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रतिव्यक्ति २० हजार खर्च गरेर प्रतिष्ठानबाट ५३०० जनालाई विभिन्न विषयमा सीपमूलक तथा सीप अभिवृद्धि तालिम प्रदान गरिएको हो । प्रतिष्ठान र केन्द्रबाट तालिम सम्पन्न गरेका ३४९ जनाको सीप परिक्षण गरिएको पत्रकार सम्मेलन गरी प्रतिष्ठानकी निर्देशक विन्दा आचार्यले जानकारी दिइन् । प्रतिष्ठानवाट सीपमूलक तालिम लिएका प्रशिक्षार्थीहरुलाई आइ इ डी आइसँगको सहकार्यमा १०८ महिला र ४० पुरुष गरी कुल १४८ जनालाई उद्यमशिलता तालिम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरुप दक्ष, प्रतिस्पर्धा, सीपयुक्त तथा उद्यमशिल जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम संचालन र व्यवस्थापन गर्ने तथा गराउने कार्य गरिरहेको प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार वखतीले जानकारी दिएका छन् । आगामी वर्ष प्रतिष्ठान र केन्द्रबाट ५७६० जनालाई सीपमूलक र सीप अभिवृद्धि तालिम प्रदान गर्ने र सीपमूलक तालिम लिएका प्रशिक्षार्थीहरु २५०० जनाको सीप परिक्षण गर्ने योजना रहेको कार्यकारी निर्देशक वखतीले बताए । बजारको माग अनुरुप प्रतिष्ठानले दिएको यो तालिम पर्याप्त नभएको उनको भनाइ छ ।

नेपालका युवालाई श्रम बजारको माग अनुरुप आवश्यक सीपद्वारा सशक्त बनाउँदै स्वदेश तथा वैदेशिक रोजगारमा प्रतिस्पर्धी बनाउनु संस्थाको प्रमुख उद्देश्य रहेको उनले बताए । संस्थाले विभिन्न सरकारी निकाय, निजी क्षेत्र, उद्योग वाणिज्य संघ, विकास साझेदार र स्थानीय सरकारसँग सहकार्य गरी देशको सीप प्रणालीलाई एकीकृत र परिणाममुखी बनाउने प्रयास गरिरहेको जनाएको छ।

श्रम बजारको मागको अध्ययन, विश्लेषण गरी सो अनुरूप नयाँ तालिम कार्यक्रमहरूको विकास र सञ्चालन गर्ने उनले सुनाए । त्यस्तै व्यावसायिक तालिमलाई उद्योगसँग जोड्ने र कार्यस्थल आधारित तालिमलाई प्राथमिकता दिने वखतीले जानकारी दिए । ७ वटै प्रदेशमा कार्यक्रम विस्तार गर्ने भन्दै उनले आन्तरिक रोजगारीलाई बढी प्राथमिकता दिएको जानकारी दिए । रोज‌गारदातासँग मिलेर कार्यस्थलमा तालिम दिने तयारी भइरहेको कार्यकारी निर्देशक वखतीले बताए ।

आन्तरिक रोजगारी व्यवस्थापनका लागि सीप विकास गर्न ९ वटा रोजगारदाता संघ–महासंघहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरिएको र रोजगारदाता संघ–महासंघको नेतृत्वमा श्रमबजारको माग अनुरुप १९ वटा सीपमूलक तालिमको पाठ्यकम निर्माण गरी स्वीकृत भएको संस्थाले जनाएको छ ।

होटल टेक्निसियन, गार्मेन्ट मेशिन अपरेटर, मेसन, कमि, स्काभेटर अपरेटर, सहायक व्युटिशियन, वेटर–बेटेस, विद्युतीय सवारी मर्मत प्राविधिक, बेल्डर, बारिष्टा, सुन गाल्ने खार्ने कालिगढ, फुटवयर अपर मेकर, प्लम्बिङ, केयर गिभर, विल्डिङ इलेक्ट्रिसियन, ल्यापटप मर्मत, फुटवयर लाष्टिङ एण्ड पेष्टिङ, कटाई सिलाई, मोवाईल मर्मत लगायतका ट्रेड पाठ्यक्रम तयार गरी सीप दिने संस्थाले जनाएको छ ।

Health Tips Ad Road Block