काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरुलाई लक्षित गरी सार्वजनिक रोजगार सेवालाई प्रभावकारी बनाउन तथा निजी क्षेत्रको सक्रिय संलग्नता बढाउने उद्देश्य राखी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
रुपन्देही चेम्बर अफ कमर्स, अन्तराष्ट्रिय श्रम संगठन आईएलओ र सरकारको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रोजगार सेवा केन्द्र , निजी क्षेत्रका प्रतिनिधिहरू, उद्योग व्यवसायीहरू, श्रमिक संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सार्वजनिक रोजगार सेवाको पहुँच विस्तार, गुणस्तरीयता अभिवृद्धि, युवालाई लक्षित रोजगारीको अवसर, निजी क्षेत्रसँगको सहकार्य तथा श्रम बजार सुदृढीकरणका विविध पक्षहरूमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा निजी क्षेत्र, विशेषगरी उत्पादन, पर्यटन, उद्यमशीलता, कृषि, निर्माण, शिक्षा, सेवा क्षेत्र लगायतका उद्योग व्यवसायका प्रतिनिधिहरूले आफ्ना अनुभव तथा दृष्टिकोण साझा गरेका थिए । उनीहरूले श्रमिकको आपूर्ति, दक्ष जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, तालिम, लगानीमैत्री नीति निर्माण, आत्मनिर्भरता अभिवृद्धि र समन्वययुक्त प्रणाली आवश्यक रहेको धारणा राखे।
लुम्विनी चेम्बर अफ कमर्सका अध्यक्ष टंक पसाद पोख्रेलले वर्तमान श्रम बजारका चुनौतीहरू समाधान गर्न निजी क्षेत्रको संलग्नता अत्यावश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सार्वजनिक–निजी साझेदारीलाई बलियो बनाउनेतर्फ सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा आईएलओका प्रतिनिधिहरूले रोजगार सेवा केन्द्रलाई अझ प्रभावकारी बनाउने रणनीतिहरू, स्थानीय तहको भूमिकाको महत्व, संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका थिए ।
कार्यशालामा सार्वजनिक रोजगार सेवा सुदृढीकरणका लागि निजी क्षेत्रको अभिप्राय, संरचनागत सुधार, नीति निर्माणमा सरोकारवालाको सहभागिता, रोजगारको गुणस्तर र पहुँच विस्तार गर्ने उपायहरूबारे समूहगत छलफलसमेत गरिएको थियो। सहभागीहरूको सुझाव तथा निष्कर्षहरूलाई आगामी कार्यक्रम र नीतिमा समेटिने जानकारी आयोजकले दिएको छ ।
कार्यक्रममा नेपालमा रोजगार सेवा प्रणाली सुदृढ गर्न, रोजगारीको दिगोपन सुनिश्चित गर्न र स्वदेशमै श्रमशक्तिको सदुपयोग गर्न निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।






















