काठमाडौं । एनआईसी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेडबीच सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषामा कारोवार कार्यालय रहेको जानकी केवल इण्डस्ट्री लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून अधिनमा रही सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र जानकी केवल इण्डस्ट्री लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।
आइएसओ ९००१ः२०१५ प्रमाणित तथा आरओएचएस, सीइ र आइइसी युरोपियन प्रमाणपत्र प्राप्त जानकी केवल इण्डस्ट्री नेपालको पहिलो केवल निर्माता कम्पनी भएको कम्पनीको दाबी छ । जानकी केवल इण्डस्ट्री नेपालको एक अग्रणी केवल तथा कन्डक्टर निर्माता कम्पनी हो ।
हाल जानकी केवल इण्डस्ट्रीले एसीएसआर कन्डक्टर, हाउस वायर, एबीसी केवल, अटो केवल, फ्लेक्सिबल वायरहरू, पावर केवल, इलेक्ट्रोनिक केवलहरू उत्पादन गरी सहज र सरल रुपमा आम उपभोक्तामाझ उपलब्ध गराउँदै आइरहेको छ ।






















