काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको प्रस्ट पारेका छन् । राष्ट्रिय सभामा उनले सांसदहरूको जिज्ञासाको जवाफमा प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि कुनै पनि प्रकारको सहमति नभएको उल्लेख गरेका हुन् ।
मन्त्री खनालले नेपाल भारतबीच सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र द्विपक्षीय संयन्त्र ‘बाउन्ड्री वर्किङ ग्रुप’ र त्यस अन्तर्गतका संयन्त्रको बैठक निरन्तर हुने गरेको जानकारी दिएका छन् ।
सांसदहरूको जिज्ञासाको जवाफमा सुस्तामा निर्माणाधीन अन्दाजी एक किलोमिटर तटबन्ध निर्माण कार्य भइरहेका सम्बन्धमा भारतीय पक्षबाट कुनै आपत्ति नरहेको जनाएको उनले उल्लेख गरेका छन् ।





















