Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सुरक्षा कोषले पूर्वाधारमा लगानी गर्ने, आवद्ध हुने परिवारको स्वास्थ्य जिम्मा पनि कोषमार्फत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक सुरक्षा कोषले विस्तारै पूर्वाधार क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको जनाएको छ । कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यसबारे जानकारी दिएका हुन् । आन्तरिक पुँजी परिचालनको महत्वपूर्ण माध्यम हुने गरी राज्यको पूर्वाधार निर्माणमा कोषको रकम उपयोग हुन सक्ने गरी नीतिगत आधारहरु तयार गरिरहेको उनले जानकारी दिए । श्रमिकको हकहित र सुरक्षाका लागि विशेष ध्यान दिएर अगाडि बढेको जानकारी दिँदै अधिकारीले अबको चार वर्षमा कोषमा आबद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा सरकारले लिनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

कोषले के–के गर्यो आजसम्म ? यस्तो छ पत्रकार सम्मेलनमा प्रवक्ता कृष्ण अधिकारीले दिएको विस्तृत विवरण

सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ सुरुवाती चरणमा औपचारिक क्षेत्रका निजी सङ्गठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना, वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना र सार्वजनिक निकायमा रहेका कर्मचारीहरूको सामाजिक सुरक्षा योजना सञ्चालन गर्दै आएको जानकारी गराउँदछौं।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको छ। आव २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण संख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको संख्या यस आव २०८१–८२ मा थप ८,८२,९४६ ले वृद्धि भई कुल २३,७४,४८६ पुगेको छ। जसमध्ये औपचारिक तर्फ ६,०१,८२५ वैदेशिक क्षेत्र तर्फ १७,७१,५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ संख्या रहेको छ। आव २०८१/८२ मा थपरु २५ अर्ब ३६ करोड योगदान रकम संकलन सहित कुल योगदान रकम संकलन रु. ८३ अर्व ६५ करोड पुगेको छ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरुको उपयोग गरे बापत भुक्तानी गर्दै आईरहेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत १,१०,६९६ योगदानकर्तालाई २ अर्व १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना ५,९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तरगत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको जानकारी गराउँदछौ। आव २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबि भुक्तानी मार्फत रु. ५ अर्व ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दावि भुक्तानीमार्फत हालसम्म कुल रु. १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको छ। योगदानकर्ता सापटी अन्तरगत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटि १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्व ४ करोड भुक्तानी भएको छ।

कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आव २०८१/८२ मा थप २४ वटा सहित कूल १०७ वटा स्वास्थ्य संस्थासंग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ। वैदेशिक रोजगारी/स्वरोजगारीमा रहेका व्यक्तिहरुको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वडा वित्तीय संस्थासँग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ।

औपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भई यसै आर्थिक वर्षमा कार्यान्वयनमा आईसकेको छ। आज भन्दा ५ वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा आज योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको र औषधि उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाखसम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको छ। अबको करिव चार वर्षमा कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोषमार्फत राज्य हुने गरी काम भइरहेको छ।

मानवीय पुँजीको महत्वपूर्ण पाटो जनसांख्यिकीय लाभलाई अधिकत्तम उपयोग गर्ने गरी काम गर्ने उमेर सम्म काम गर्ने र कमाईको केही हिस्सा मासिक रुपमा कट्टि गरी राज्यको संयन्त्र सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मलाई र मेरो परिवारलाई केहि भयो भने राज्य गर्छ भन्ने मनोविज्ञान विकासमार्फत नयाँ पुस्तामा राज्यप्रतिको अपनत्त्व भाव अभिवृद्धि हुने गरी कोषका हरेक रणनीतिहरु केन्द्रित छन् भने अर्कोतिर कोष आन्तरिक पुँजी परिचालनको महत्वपूर्ण माध्यम हुने गरी राज्यको पूर्वाधार निर्माणमा कोषको रकम उपयोग हुन सक्ने गरी नीतिगत आधारहरु तयार गरिरहेको छ।

कोषले हरेक श्रमिकको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गरी प्रत्येक नागरिकले सर्वव्यापी स्वास्थ्य सेवाको पँहुच र जुनसुकै स्वरुपको अशक्ततामा पनि आयको निरन्तरता हुने गरी योगदानमा आधारित पेन्सनको व्यवस्थासहित राज्यको सामाजिक संरक्षणलाई दिगो बनाई समग्र सन्तुलित श्रम बजारको माध्यममार्फत समग्र उत्पादन र उत्पादकत्व अभिवृद्धि हुने गरी रणनीति रुपमा काम गरिरहेको छ। कोषको दायरा विस्तारसँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको जनाएको छ।

Health Tips Ad Road Block