काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरेर सम्पन्न भएको छ । पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले एक समारोहका बीच वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरे । अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवा सुविधामा ध्यान पुर्याउन सके उत्पादकत्व वृद्धिमा स्वतः सहयोग पुग्ने बताए । राष्ट्रिय वाणिज्य बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यबद्धता जनाउँदै ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निश्कर्षमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाण्डेयले सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयहरु तत्काल सम्बोधन हुनुपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने चेतावनी दिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पूर्व अध्यक्ष शिव कुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देव कुमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको सम्वद्र्धनका विषयमा विषयहरु उठान गरिएको थियो ।

कार्यक्रममा संघको कर्णाली प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय वाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु’ विषायक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम, रमा पराजुली द्वितीय र राकेश कुमार राय तृतीय भएका थिए । सोही अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएकोमा रेनुका न्यौपाने प्रथम, एलिना गौतम द्वितीय र कोपिला ढकाल तृतीय भएका थिए । विजयी प्रतियोगीहरुलाई मुल समारोहका अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
संघका महासचिव रविन्द्रप्रसाद चौंलागाईंले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उप्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मुल समारोह हुनुअघि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय तथा वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद तिमल्सिनाले संयुक्तरुपमा संघको झण्डोत्तोलन गरेका थिए ।
केन्द्रीय समितिबाट गत साउन २ गते आयोजित रक्तदान कार्यक्रममा ७७ जना बैंकका कर्मचारीहरुले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर कार्यक्रममा १२५ जनाको सहभागिता रहेको थियो ।
संघको वार्षिकोत्सव कार्यक्रम संघको केन्द्रीय समितिका अलावा विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी मनाइएको छ । कोशी प्रदेश समितिले जनमत सरस्वती आधारभुत विद्यालयका ८० जना विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान ग¥यो भने मधेश प्रदेश समितिले वीरगञ्जस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम तथा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । बागमती र के.का विशेष प्रदेश समितिहरु केन्द्रीय समितिले गरेको कार्यक्रममा सहभागी हुनुका साथै के.का प्रदेश समितिले क्लोथ बैंक सञ्चालन गरी संकलन भएको लत्ताकपडा बबरमहलमा रहेको विवेक स्वच्छ सेवा केन्द्रमा वितरण समेत गरेको छ । यसका साथै गण्डकी प्रदेश समितिले शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश समितिले समेत शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्नुको साथै सिद्धार्थ बालगृह भैरहवामा १ महिनालाई पुग्ने खाद्यान्न सामाग्री वितरण गरेको छ । कर्णाली प्रदेश समितिले प्रश्रान्ती वृद्धाश्रममा फलफुल तथा खाना खुवाउने कार्यक्रम र शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी वार्षिकोत्सव मनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगर बैजनाथ वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री वितरणको साथै शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।























